नागरिक संवाद सम्पन्न, संवाद कार्यक्रममा जनप्रतिनिधिको प्रशंसा



बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा आज नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगंज ४ को सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा नेपालगंजमा आज कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को विकासमा नागरिकहरुको सहभागिता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । वडाबाट हुने सार्वजनिक सेवा प्रवाहका लागि नागरिकबाट गुनासो एवं सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले आम नागरिकलाई सर्व सुलभ ढंगले सेवा प्रवाह गर्दै आएको जानकारी गराएका थिए । उनले आम नागरिकको गुनासो तथा समस्यालाई तुरुन्त समाधान गर्न र नागरिकको काममा विलम्ब गर्ने अधिकार कसैलाई नभएको बताउँदै जनतालाई दुख दिने कार्मचारीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संवाद कार्यक्रममा सहभागि स्थानीय एलिशा खत्रीले अन्य वडाको तुलनामा ४ नम्बरमा राम्रो काम भएको बताउँदै फोहर व्यवस्थापनमा ध्यान केन्द्रीत गर्न जनप्रतिनिधिहरु संग आग्रह गरेकी थिइन् ।

यस्तै कार्यक्रमका सहभागि धर्म राज केसीले बिकास निर्माणको काममा वडा सबै भन्दा अगाडि रहेको सुनाए । उनले अन्नपूर्ण टोलमा बिजुली पुर्याइ दिन जनप्रनितिहरुसँग आग्रह गरे।

यस्तै उमा गौचनले जनता र जनप्रतिनिधि बिचको सम्बन्ध राम्रो भएको बताएकी थिइन् । द्रोपति बिष्टले स्थानीय निर्वाचन हुनु पूर्व कम्मर भरी पानीमा हिडेर आउनु पर्ने रोड स्थानीय निर्वाचन पश्चात जनप्रतिनिधिहरुको सक्रियतामा पिच रोड बनेको बताइन् । उनले भनिन्, बसपार्कसँग जोडिएको सुर्जी गाँउको रोड अपूर्ण रहेकोले पूर्ण गर्न तर्फ ध्यान केन्द्रीत गर्न आवश्यक छ । उनले वडामा ८० प्रतिशत भन्दा बढी विकास भइसकेको जानकारी दिदैँ यस कार्यमा जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा सिला सिंह सिजापति, शोभा थापा लगायत दर्जनौ व्यक्तिहरुले जनप्रतिनिधिहरुसँग प्रश्न गरेका थिए।

जनताको प्रश्नको जवाफ दिदैँ वडा अध्यक्ष बेहनाले संविधानमा सुनिश्चित गरिएको मौलिक हक र कर्तव्य, संविधानमा समेटिएका अन्य व्यवस्थाहरु जनताका अधिकार, महिला अधिकार, दलितका अधिकार आदिका बारेमा आफूहरु गम्भीर रहेको बताउँदै बत्ती नभएको टोलमा तत्काल बत्ती लगाईने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

अध्यक्ष बेहनाले जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई आग्रह गर्दैे सार्वजनिक सेवा प्रवाहमा कुनै त्रुटि एवं गुनासो भए सिधा आफुलाई भन्न आग्रह समेत गरेकी छिन् ।

कार्यक्रममा वडा सदस्य इन्दीरा शाहीले जनताको सेवा गर्न पाएकोमा धन्यवाद दिदैँ वडामा रहेको समस्यलाई समाधान गर्न तर्फ आफूहरु लाग्ने बताएकी छिन् ।

यसैगरी वडा सदस्य मेनका बैद्यले कोरोनाको समयमा वडाले गरेको कामका बारेका प्रष्ट पारेकी थिइन् भने वडा सदस्य जयपत्रा कारीले आम नागरिकले वडाप्रति उत्तरदायि हुँदै दिएको सुझाव र सल्लालाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताएकी थिइन् ।

वडा सचिव राज कुमार कार्कीले नागरिक स्तरबाट आएको सुझाव सल्लाहले वडाको विकास गर्न तथा अहिलेसम्म भएका कमीकमजोरीलाई सच्याउन सहयोग पुर्याएको बताएका थिए । नागरिकले राखेको समस्यालाई जनप्रतिनिधिहरु सँग मिलेर समाधान गर्ने सचिव कार्कीले प्रतिवद्धता जनाएका थिए । कार्यक्रमका सहभागिहरुले आम नागरिकको प्रत्यक्ष गुनासो र समस्या सुन्न आँट राख्ने वडा अध्यक्ष बेहनालाई वडावासीले साहसी वडा अध्यक्षको संज्ञा दिएका थिए ।

युथ टुडे मिडिया न्युज कि संवादाता सोनाली गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता रबि बर्मा, पत्रकार चन्द्र बोहरा वडा सदस्यहरु, कर्मचारीहरु, राजनितिक दलका प्रतिनिधिहरु आम नागरिक, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्