टानको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा : राजेन्द्रप्रसाद सापकोटाको पल्ला भारी



पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि तीन व्यवसायी चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्।

आगामी माघ २८ गतेका लागि तय गरिएको टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका तीनै जना प्रत्यासीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन्। साथै उनीहरुले निर्वाचनमा माहोल आफ्नो पक्षमा पार्न व्यावसायिक दौडधूप र छलफललाई तीव्रता दिएका छन्।

टान अध्यक्षका लागि पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा, नीलहरि बाँस्तोला र बोधराज भण्डारी विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन्। प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् ​भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरिसकेका छन् । होटल तथा ट्रेकिङ्ग व्यवसायमा तीनै जना अब्बल गनिन्छन्।

पर्यटन क्षेत्रमा लामो अनुभव भएकाले नेतृत्वका लागि तीनै जनालाई उपयुक्त उम्मेदवारका रुपमा हेरिएको छ । तीनै जना पर्यटनमा परिचित अनुहार भएकाले यस पटकको निर्वाचनमा पनि निकै रसाकस्सी हुने विश्लेषण गरिएको छ । टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कूल २५ सदस्यीय कार्यसमिति मध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ ।

तीन प्रतिष्पर्धी मध्ये सापकोटा तुलनात्मक रुपमा अगाडि देखिन्छन्। आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटलसमेत सञ्चालन गरेका छन् । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य समेत हुन्।

आफ्नो उम्मेद्वारीबारे सापकोटाले भने, ‘निजी क्षेत्रबाट सञ्चालित टानको धुमिल हुन लागेको अस्तित्वलाई बचाउन र टानको गरिमालाई उँचो बनाउन मेरो भूमिका रहन्छ, निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउन जरुरी छ।’

सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गर्ने र सुरूआतमा टिम्सको शुल्क टानसँग सहकार्य गरेर पर्यटन क्षेत्रमा कार्यान्वयन गर्ने र १० प्रतिशत रकम पर्यटन मजदुरको हितमा खर्च गर्ने सम्झौता अनुसारको काम गराउने बताए।

टान अध्यक्षका अर्का प्रतिष्पर्धी बाँस्तोला एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । यस्तै उनले एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन्।

स्नोइ होराइजन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक भण्डारीले आफ्ना प्रतिबद्धता सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेर उम्मेद्वारी घोषणा गरेका छन्। उनले टान र टानका साधारण सदस्यप्रति उत्तरदायी भएर चुनावी खर्च कम गर्ने र उम्मेदवारी दर्ता शुल्क तथा बढीमा एक पन्ने प्रतिबद्धता पत्रको छपाइ खर्च मात्र हुने बताए। उनले निर्वाचनमा कुनै सदस्यको सदस्यता नवीकरण गरिदिने, फजुल खर्च नगर्ने, भेला र भाषणबाजी नगर्ने बताए।

प्रतिक्रिया दिनुहोस्