तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली



राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर बैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा नौ अर्ब ८३ करोड रुपैयाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै आव २०७६र७७ मा १५ अर्ब ५९ करोड ७२ लाख राजस्व छली तथा एक अर्ब ३३ करोड विदेशी मुद्रा अपचलन भएको छ । आव २०७७र७८ मा १९ अर्ब ८१ करोड ९५ लाख राजस्व छली तथा चार अर्ब ९४ करोड ५८ लाख बराबरको विदेशी मुद्रा अपचलन भएको छ । चालू आवको पाँच महिनामा मात्र सात अर्ब ११ करोड ७१ लाख राजस्व छली र १५ करोड ४५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको पाइएको छ । राजस्व अनुसन्धान विभागको मात्र होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पनि यस्तै तथ्याङ्क छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा ७६ वटा घटनामा सात अर्ब ६७ करोड ४१ लाख छ हजार २८५ रुपैयाँ ९० पैसाको कारोबार अवैध रूपमा भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्