
सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सक्षम साकोस) को १५ औँ बार्षिक साधारण सभा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा काठमाडौँमा सम्पन्न भएको छ ।


साधारण सभामा प्रमुख अतिथि खाणले संस्थामा आबद्ध ५ जना जेष्ठ नागरिकलाई नगद रु.५०००।– सहित दोसल्ला ओडाएर सम्मान, १०+२ उत्तीर्ण ४ जना विधार्थीलाई नगद रु.५१००।– सहित सम्मानपत्र, एस.ई.ई. उत्तीर्ण ५ जना विधार्थीलाई नगद रु.५०००।– सहित सम्मानपत्र, संस्थामा कारोबार गर्ने असल ऋणी २ जनालाई रु.४०००।– सहित प्रमाणपत्र र १ जना उत्कृष्ट कर्मचारीलाई रु.३०००।– नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो । संस्थाका सेयर सदस्य बामदेव अधिकारी नेपाल सरकारको सचिवमा पदोन्नति भएकोमा उनलाई समेत दोसल्ला ओडाई सम्मान गरिएको थियो ।


कार्यक्रममा सम्मानित भएका विद्यार्थीलाई हौसला दिदैँ गृहमन्त्री बालकृष्ण खाणले सहकारीबाट प्राप्त नगद पुरस्कारलाई कुनै राम्रो कम्पनीको सेयर किन्न सुझाव दिएका थिए ।

बूढानीलकण्ठ वडा नं.१२ कपन फैकामा मुख्य कार्यालय रहेको सहकारी संस्थाले बार्षिक साधारण सभाको अवसरमा प्रबन्ध सञ्चालक कृष्णप्रसाद खनालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट, लेखा समिति संयोजक देवीप्रसाद दाहालले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन र अध्यक्ष सोनाम छोटी शेर्पाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन सभाले पास गरेको थियो ।

संस्थाका निःवर्तमान प्रबन्ध सञ्चालक चित्रकुमार दाहालले सञ्चालन गरेको कार्यक्रममा संविधानसभा सदस्य रामहरि खतिवडा, संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनी, सम्मानित जेष्ठ नागरिक उत्तर कुमार कटवाल, सम्मानित विद्यार्थी सुस्मिता भण्डारीले आफ्नो मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य संस्थाका सञ्चालक होमनाथ दाहालले गरेका थिए ।





