एमाले काठमाडौंको नेतृत्व चयन सर्वसहमतिबाटै



नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौंको नेतृत्व सर्वसहमतिमै चयन हुने भएको छ । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले जिल्ला कमिटी काठमाडौंले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कृष्ण राईले नेतृत्व चयन सर्वसहमति मै हुने बताए ।

पत्रकारमाझ अध्यक्ष राईले भने, ‘ जिल्ला र प्रदेश गरेर अब दुई वटा अधिवेशन बाँकी छ । जिल्ला भन्दा एक तहमाथि प्रदेश कमिटीमा रहने साथीहरुको भरखरै बसेको बैठकले समेत सर्वसहमतिकै निर्णय गरेको छ, केन्द्रीय कमिटीले भनेकै जसरी ।’

सर्वसहमति भनेर फेरि पार्टी कार्यकर्तालाई लोकतान्त्रिक प्रक्रियाबाट बञ्चित गर्ने मनसाय पटक्कै होइन, अध्यक्ष राईले अगाडि भने, ‘सर्वसहमति भन्नेवित्तिकै निरङ्कुशता लाद्ने परिवेशको कुरा होइन । सहमतिमा नेतृत्व छन्दा पार्टीमा खर्चिएको समय, योग्यता, क्रियासिलता र क्षमता सबैलाई विशेष ध्यान दिइने छ ।’

अन्य पार्र्टीबाट आएका साथीहरुलाई एकता प्रक्रियामा सहभागी गराउनु पर्ने र आजीवन एमालेमै बिताउने कार्यकर्ताको भावनालाई पनि समेट्नु पर्ने भएका कारण सर्वसहमतिमा जोड दिइएको समेत अध्यक्ष राईले प्रष्ट्याए ।

सर्वसहमतिमा शंका गर्न नहुने बताउँदै राईले लोकतान्त्रिक पद्दति परिपालना गर्नेमा एमाले नै पहिलो दल भएको जिकिर गरे । उनले अगाडि थपे, ‘सबै भन्दा बढी लोकतान्त्रिक अभ्यास र पद्दतीमा विश्वास गर्ने पार्टी समेत एमाले हो । आफुलाई अधिक प्रजातान्त्रिक ठान्ने नेपाली कांग्रेसले समेत पोखरा महाधिवेशन भन्दा पहिले पार्टी सदस्यको छनोट नै जानेको थिएन । धेरै प्रतिनिधिहरु उतार्ने र भद्रगोल हुने अवस्था थियो । एमालेभित्र त्यस्तो कहिल्यै भएन । पछि कांग्रेस पनि सच्चियो ।’ काठमाडौंमा रहेका स्थानीय तह सबैमा सर्वसहमतिले नेतृत्व चयन भएको समेत उल्लेख गर्दै अध्यक्ष राईले जिल्ला कमिटी समेत सर्वसहमतिमा जुटेको सुनाए ।

सर्वसहमतिले नेतृत्व चयन भए सम्भावित आर्थिक चलखेल समेत रोकिने अध्यक्ष राईले बताए । पछिल्लो समय पार्टी महाधिवेशन नै भड्किलो भएको भन्नेतर्फ संकेत गर्दै अध्यक्ष राईले एमाले काठमाडौंको महाधिवेशन स्वयं कार्यकर्ताले गर्न लागेको बताए । आर्थिक व्यवस्थापनबारे लामै सम्बोधन गर्दै उनले भने, ‘आर्थिक पक्षलाई हामी आफैंले व्यवस्थापन गर्नुपर्छ भनेर प्रत्यक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाएका छौँ । केन्द्रीय कमिटीले भने बमोजिम जनप्रतिनिधिलाई आर्थिक सहयोग गर्न भनेका छौँ । तर, पहिले–पहिले जस्तो व्यापारी तथा व्यसायीलाई दुःख दिने कार्य यसै महाधिवेशनबाट अन्त्य भएको सन्देश दिन खोजेका छौँ । र, भोजभतेर गर्दा जित्ने भन्ने मानसिकतालाई नै परास्त गरेका छौं ।’

केन्द्रीय महाधिवेशनबाट त्यो कुराको पुष्टि भइसकेको जिकिर पनि उनले गरे । अध्यक्ष राईका अनुसार एमाले पार्टीले तल्लो तहका कमिटीलाई समेत आर्थिक दायित्व दिएको छ । केन्द्रीय कमिटीले गरेको निर्णयलाई पछ्याएर आफुहरुले कार्यकर्ता तहबाटै काठमाडौं जिल्ला कमिटीको अधिवेशन गर्न लागेकाले अन्य पार्टीले समेत यसलाई अनुशरण गरे खेर नजाने अध्यक्ष राईको भनाई छ ।

अधिवेशन उद्घाटन ओलीले गर्ने

एमाले काठमाडौंको छैठौं जिल्ला अधिवेशन (२३ गते) शुक्रबार हुँदैछ । कागेश्वरी मनोहरा नगरपालिका –६ मा रहेको मुलपानी क्रिकेट मैदानमा जिल्ला अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । जिल्ला अधिवेशनको तयारी पूरा भएको जिल्ला कमिटी सचिव दिपक निरौलाले जानकारी दिए ।

उनका अनुसार उद्घाटन समारोहमा एक लाख बढी सर्वसाधारणलाई सहभागी गराउने अभियान नै छ । बन्दसत्र भने (२४ गते) शनिवार राष्ट्रिय सभा गृहमा हुने सचिव निरौलाले बताए । काठमाडौंमा मात्रै एमालेमा २८ हजार पार्टी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्