नवलपुरमा थपिए एघार हजार नयाँ मतदाता



नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा ११ हजार बढीले नामावली दर्ता गरेका छन् । जिल्लामा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण र पुस ५ देखि पुस १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिएको थियो ।

जिल्लामा रहेका आठ स्थानीय तहमध्ये पहिलो चरणमा चार गाउँपालिकाबाट तीन हजार ९०३ तथा दोस्रो चरणमा तीन नगरपालिकाबाट सात हजार ४२२ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्ला सदरमुकाम कावासोतीमा भने दुई स्थानबाट नियमित नामावली सङ्कलनको काम भइरहेकाले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम गरिएको थिएन । स्थानीय तहमा सञ्चालित विशेष कार्यक्रम (घुम्ती टोली) मा नामावली दर्ता गराउने मध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा दुई हजार ९२३ छन् ।

उनका अनुसार मध्यविन्दु नगरपालिकामा दुई हजार ८२२, देवचुली नगरपालिकामा एक हजार ६७७, विनयी त्रिवेणीमा एक हजार ६६२, हुप्सेकोटमा एक हजार १४०, बुलिङटारमा ४४२ र बौदिकाली गाउँपालिकामा ६५९ जनाले नाम दर्ता गराएका छन् ।

एक महिनासम्म सञ्चालित विशेष कार्यक्रमबाट सात स्थानीय तहका ११ हजार ३२५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयले जनाएको छ । जिल्लाका सात स्थानीय तहमा विशेष अभियान सकिएको भए पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम जारी रहेको उनले बताए ।

उनका अनुसार जिप्रका गत साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार २६८ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै,जिल्ला निर्वाचन कार्यालयबाट दुई हजार ५३३ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी भुसालले जानकारी दिए । स्थानीय तहमा सञ्चालित विशेष अभियानसहित यस आवमा जिप्रका र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या १८ हजार १२६ रहेको उनले बताए ।

“जिल्लामा यस आवमा मतदाता नामावलीमा नाम दर्ता गराउने सबै मतदाता होइनन्” उनले भने, “हामीले फोटोसहितको मतदाता नामावलीको फारम भर्दा १६ वर्ष पुगेपछि भर्न मिल्छ, तर मतदाता हुनका लागि १८ वर्ष पुग्नुपर्छ ।” अहिले फारम भरेका तर १८ वर्ष नपुगेका नागरिकको १८ वर्ष उमेर पुगेपछि मात्रै मतदाता नामावलीमा नाम दर्ता हुने उनले जानकारी दिए ।

नागरिकता बनाएका सबैले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने भए पनि १८ वर्ष पुगेका बालिकले मात्रै मतदाता परिचयपत्र पाउने जनाइएको छ । अन्य जिल्लामा स्थायी ठेगाना भएका तर नवलपुरमा बसोबास गर्दै आएका व्यक्तिलेसमेत जिल्ला निर्वाचन कार्यालयमा गएर मङ्सिर महिनादेखि मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरिएको जनाउँदै उनले अन्य जिल्लाका ४२ जनाले नामावलीमा नाम दर्ता गरेका बताए ।

त्यस्तै, नामावलीमा भएको त्रुटी सच्याउनका लागि ७६ जनाले निवेदन दिएका छन् भने मतदानस्थल परिवर्तन (ठाउँसारी) का लागि ५९८ जनाले निवेदन दिएका भुसालले बताए । जिल्लामा हाल दुई लाख ३७ हजार ८२ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी भुसालको भनाइ छ ।

वि।सं २०७७ पुस ५ गतेसम्म जिल्लामा एक लाख २४ हजार ९८० महिला, एक लाख १२ हजार ९८ जना पुरुष तथा चार जना तेस्रो लिङ्गी मतदाता रहेका जनाइएको छ । जिप्रकामा भइरहेको मतदाता नामावली सङ्कलनमा नयाँ नामावली दर्ताको काम मात्रै हुने भएकाले विवरण सच्याउने, नामावलीबाट नाम हटाउने, विवाह, बसाइँसराइका कारण नाम थप्नेलगायतको काम गर्न जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्