अक्षयकोषका लागि तीन लाख सहयोग



नारी सञ्चार गृह, झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरे ।

उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चार गृहमा आबद्ध महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुतनीय रहेकाले उनीहरुले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि सहयोग गरेको बताए

नारी सञ्चार गृह २०६८ सालमा स्थापना भएको हो । संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्दै आएको छ । संस्थामा ५० भन्दा बढी महिला आबद्ध छन् । तीन वर्ष अघि अक्षयकोषको स्थापना गरिएको हो ।

अक्षयकोषको वृद्धिका लागि गृहमा आबद्ध पत्रकार महिलाले जन्मदिन, वर्षगाँठलगायत वापतको रकम समेत जम्मा गर्दै आएको शिवाकोटीले बताए । अक्षयकोषका लागि कमल गाउँपालिकाले रु ५० हजार र अर्जुनधारा नगरपालिकाले रु एक लाख ५० हजार सहयोग गरेको छ ।

संस्थाकी उपाध्यक्ष एवम कोषकी संयोजक रेजिना गौतमले चाँडै नै सोही रकमको ब्याजबाट पुरस्कार स्थापनाको तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्