हिउँमा फसेका बाबुछोरा उद्धार गर्न गएको हेलिकप्टर आइतबार पनि रित्तै फर्कियो



ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आज बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो ।

अन्दाजी ५०र५५ वर्षका लाक्पा टासी र उहाँका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फसेका हुन् । ‘चौँरीसँगै हिउँ पहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार हेलिकप्टरबाट निकालिदिन लाक्पाले आग्रह गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु शेर्पाले बताए ।

समुद्री सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका हुन् । वडाअध्यक्ष शेर्पालाई लाक्पाले फोन मार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोहीअनुसार शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो । तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो ।

आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटारबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए ।

फोन सम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्