चितवनमा ५ तारिखदेखि जलपंक्षी गणना सुरु गरिने



चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जनवरी ५ तारिखदेखि हिउँदे आगन्तुक जलपंक्षी गणना गरिने भएको छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपंक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० सिमसार खण्डमा जलपंक्षी गणना गरिन्छ ।

जनवरी १ बाटै कोशी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका ताल तलैयामा गणना थालिएको भए पनि अन्य क्षेत्रमा क्रमशः गणना गर्न लागिएको हो । वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार चितवनमा ५ तारिखदेखि जलपंक्षी गणना गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिने छ ।

चौधरीका अनुसार लोथर खोलादेखि कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म पहिलो दिन गणना गरिनेछ । त्यसैगरी ६ तारिखमा विषहजारी ताल र आसपासका तालम गणना गरिने छ । छुटपुटका ठाउँमा ७ तारिखमा गणना गरिने छ ।

यस्तै पश्चिम चितवनमा ७ तारिखमा चरा गणना गरिंदै छ । नेपाल चराविज्ञ सङ्घका प्रतिनिधि हठन चौधरीका अनुसार राप्ती नदीको घठगाईदेखि गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाजापुरदेखि गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ ।

वर्ड एजुकेसन सोसाइटीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा गणना गर्न लागिएको हो । सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले बाइनाकुलर क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिने बताए । गतवर्ष चितवनमा ५५ प्रजातिका नौ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए । नेपालमा सन १९८७ बाट चरा गणना थालिएको हो ।

गणनाको नेतृत्व गर्दै आएका पक्षी विशेषज्ञ डा।हेमसागर बराल चराको सङ्ख्या, अवस्था, सिमसारको अवस्था, चराले भोग्नु परेका बाधा व्यवधानलगायतका अध्ययन यसै क्रममा गरिने बताए । चराका बासस्थानमा माछा मार्ने, ताल तलैया फुटाएर सिँचाइ गर्ने, चोरी शिकार गर्ने, डुङ्गा चलाउने जस्ता समस्या देखिने भएकाले तिनीहरुको अवस्था बुझ्न गणना महत्वपूर्ण हुने उनको भनाइ छ ।

देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन गणना उपयोगी हुने गर्दछ । उनका अनुसार अगष्टको अन्तिम साताबाट जाडो छल्न जलपंक्षी नेपाल आउन थाल्छन् । अक्टोबरको अन्तिम साता ठूलो सङ्ख्यामा चरा आउने र डिसेम्बरसम्म आइरहन्छन् ।

मार्चबाट फर्कन सुरु गर्ने उनले जानकारी दिए । नेपालमा जलपंक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरिया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए ।

नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । फोटो ग्राफरको पनि गणनामा सहभागिता हुने गर्दछ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्