पढाइमा अब्बल बन्दै ‘असहाय बालबालिका’



अभिभावकविहीन भइ सडकमा भौतारिरहने बालबालिकाले विद्यालय जान पाएपछि भने उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् ।

सोही वडामा रहेको ग्रेट अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत ती बालक सबै कक्षामा प्रथम, द्वितीय वा तृतीय हुने गरेका छन् । प्रथम त्रैमासिक परीक्षामा नर्सरीबाट सन्तोष थापाले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

नर्सरीमा चार विद्यार्थीले पठनपाठन गरिरहेका छन् । त्यस्तै एलकेजीमा निखिल खत्रीले प्रथम स्थान हासिल सफल गर्न सफल भएका छन् । एलकेजीमा दुई विद्यार्थी अध्ययनरत छन् । त्यस्तै युकेजीमा दिलीप मगरले प्रथम स्थान हासिल गरेका छन् । अहिले युकेजीमा चार विद्यार्थी अध्ययनरत छन् । त्यस्तै कक्षा १ मा रेखा विकले प्रथम स्थान हात गरेकी छिन् । युकेजीबाट कक्षा जम्प गरेर १ मा आएकी सुनिता विकको पनि पढाइ राम्रो छ । कक्षा १ मा दुई विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै कक्षा २ मा अध्ययनरत राजेश चौधरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै कक्षा ३ मा सुस्मिता चौधरी कक्षा प्रथम भएकी छिन् । कक्षा ३ मा संस्थाका सात विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यस्तै कक्षा ५ बाट मञ्जु चौधरी प्रथम हुन सफल भएकी छिन् । सोही कक्षामा अहिले दुई विद्यार्थी अध्ययनरत छन् ।

अहिले संस्थामा २२ विद्यार्थीलाई राखिएको अध्यक्ष स्यानी चौधरीले जानकारी दिइन्। “हामीले २२ विद्यार्थीलाई राखेका छौँ”, उनले भनिन्, “ती सबै घरबारविहीन अवस्थामा रहेकाहरू हुन् ।”

कोही आमाबुवा नभएका छन् भने कोही आमाबुवाले स्याहारसुसारमा कुनै ध्यान नदिएकाहरु रहेका उनको भनाइ छ । कोही भने आमा बितेर बुवाले अर्कै विवाह गरेर बसेका पनि रहेको उनले बताइन् । “यी सबै विद्यार्थी स्कूल जानबाट बञ्चित थिए”, उनले भनिन्, “हामीले त्यस्ता विद्यार्थी पठनपाठनबाट बञ्चित नहोऊन् भनी राख्ने गरेका छौँ ।”

ती सबै बालबालिकालाई अहिले स्यानीले नै हेरचाह गर्दै आएकी छिन् भने घरमा पनि पठनपाठन गर्ने गरेकी छिन् । “विद्यालयमा एउटा आधार बनेको हुन्छ, त्यो कुरा घरमा आएर पनि पढाउने सहज वातावरण भयो भने विद्यार्थीको पठनपाठन धेरै राम्रो हुन्छ”, उनले भनिन्, “हामीले अहिले पठनपाठनका लागि एक शिक्षिका पनि राखेका छौँ, अहिले म आफैँ पनि पढाउँछु, त्यसले गर्दा पनि नतिजा सुधार भएको हो ।”

अहिले उपमहागरपालिका र किवानिश क्लबले वार्षिक रु दुई÷दुई लाख सहयोग गर्दै आएका छन् । त्यसबाहेक अन्य कुनै निकायबाट सहयोग नआएको उनको भनाइ छ ।

सन्तानजस्तै माया

आफ्नै सन्तान जसरी ती बालबालिकालाई माया दिइरहेको उनले बताइन्। “उनीहरुलाई आफ्नै सन्तान जसरी माया दिएर राखेकी छु”, उनले भनिन्, “बालबालिकालाई भविष्यमा ठूलो मान्छे बनाउने मेरो लक्ष्य छ ।” ती बालबालिकालाई साँझ–बिहान संस्थामै पढाउने वातावरण पनि बनाएको अध्यक्ष चौधरीले बताए ।

विद्यालयमात्रै पढेर नहुने भन्दै उनले साँझ बिहान पढाउनका लागि संस्थामा शिक्षिका पनि राखेको बताइन् । विसं २०६१ देखि संस्थाले पिछडिएका, गरिब तथा सहाराविहीन विद्यार्थीको भविष्य उज्ज्वल बनाउँदै आएको छ भने २०७५ देखि उनले आफैँ बालबालिका राखेर पठनपाठन गराउन थालेका थिए ।

दिदीघर संस्थाको तुलसीपुर–१३ बखरियामा शाखा सञ्चालनमा ल्यााइएको छ । सोही शाखामा अहिले छात्रहरूलाई राखिएको उनले बताए । डुम्रीगाउँमा छात्रा र बखरियामा छात्रलाई राखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्