कुनै पीडाबिना १ मिनेटमा मान्छे मारिदिने ‘मृत्युको मेसिन’ ले कानुनी स्वीकृति पायो



स्विट्जरल्याण्ड सरकारले कुनै पिडाबिना १ मिनेटमा मृत्यु दिने मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृत्यु हुन्छ ।

एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । उनलाई डा। डेथ पनि भनिन्छ । स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आत्महत्या गरेका थिए ।

यो मेसिन यस्ता मानिसहरुको लागि बनाइएको बताइन्छ जो बिरामी भएर हिँडडुल गर्न पनि सक्दैनन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ । बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।

यो मेसिनलाई लिएर धेरैजनाले आलोचना समेत गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्