देउसामा सांगीतिक साँझसँगै भलिबल, गायन र नृत्य प्रतियोगीता हुँदै



वाइसीएल  नेपाल र अनेरास्ववियू (क्रान्किारी) देउसाको संयुक्त आयोजनामा भलिबल, गायन तथा नृत्य प्रतियोगीता आयोजना हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट दुई संगठनले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७, देउसामा प्रतियोगीताको आयोजना गर्न लागेको हो । प्रतियोगीताको साथमा भव्य सांगीतिक साँझको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सांगीतिक साँझको लागि भ्वइस अफ नेपाल सिजन ३ मा टिम तृष्णाका विजेता ज्वाला राई देउसा आउने भएका छन् । म्यासअप र कभर सङ गाएर चर्चामा आएका ज्वाला भ्वइस अफ नेपालमा पनि निकै रुचाइएका प्रतिस्पर्धि रहेका थिए । ज्वालाको साथमा गायिका खुसी थुलुङ, नृत्यांगनाहरु सिर्जना किराती, अनुषा राई, कला राई, लक्ष्मी राई, गायकहरु कुमार प्रयास, विनोद विक्रम राई, खगेन्द्र राई, केशव कसुर, मनराज राई र डम्बर राईको प्रस्तुति रहने कार्यक्रम संयोजक दीपक किरातीले जानकारी गराए । यी कलाकारहरुको साथमा र्‍यापर प्रतिभा रानी राईको विशेष प्रस्तुति रहने छ । टिकटक दुनियाँबाट चर्चामा आएकी प्रतिभा मिस टीन–२०१९ कि विजेता समेत हुन् ।

कार्यक्रममा गौरब राई, माया शेर्पा र गार्डेन राईको उद्घोषण रहने आयोजकले जनाएको छ । कार्यक्रममा जिल्लाका कलाकारहरुको समेत रोचक प्रस्तुति रहनेछ ।

यही पौष १ देखि ४ गतेसम्म आयोजना हुन लागेको प्रतियोगीतामा संघीय संरचनाअनुसार प्रदेश नं. १ का वडाहरुको महिला तथा पुरुष भलिबल खेल आयोजना हुनेछ । भलिबल प्रतियोगीतामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने महिला तथा पुरुष दुवैतर्फको टिमले समान राशी क्रमशः ५०, ३०, २० र १० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक प्रभुराम राईले जानकारी गराए । अन्तार्रष्ट्रिय नियमअनुसार खेलाइने खेलमा ङिमा गेलु शेर्पा, रस्बिन मगर, निशा खालिङ, दुर्गा कुलुङलगायतका रेफ्रिहरुको टिम रहनेछ ।

त्यसैगरि ‘देउसा सिंगीङ आइडल’ र ‘देउसा डान्स स्टार’मा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतिस्पर्धीहरुले क्रमशः १५, १०, ५ र २ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सांस्कृतिक विभागकी संयोजक चन्द्रकला राईले जानकारी दिइन् । गायन र नृत्यतर्फ सोलुखुम्बुमा लामो समयदेखि निर्णयकको भूमिका निर्वाह गर्दै आएका गौरब राई, सज्जन राई र लक्ष्मी राईको अनुभवी निर्णायक मण्डल रहने आयोजकले जनाएको छ । सबैप्रतियोगीतामा भाग लिने हरेक सहभागीलाई प्रमाणपत्रको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्