रोल्पा गामकी तेजमा घर्ति : एक पिँडादायी कहानी



२०४८ सालबाट रोल्पा जिल्ला संयुक्त जनमोर्चाको किल्ला सावित भयो, रोल्पाको दुवै निर्वाचन क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका बरमन बुढा (क्षेत्र नं. १) र कृष्ण बहादुर महरा (क्षेत्र नं. २) बाट जितेका थिए।२०४९ को स्थानीय निर्वाचनमा पनि गाम लगायत धेरै गाबिसमा संयुक्त जनमोर्चाले जित्यो। झक्कु प्रसाद सुबेदीले संयुक्त जनमोर्चाको तर्फबाट नै जिल्ला सभापति समेत जिते। त्यसताका दुजबीर घर्ति पनि संयुक्त जनमोर्चाका अगुवा कार्यकर्ता भए। २०५२ मा गामको अशोजे मैनाको घटना पछि दुजबिर घर्तिको नाममा मुद्दा लागेर राज्यको मष्ट वान्टेडमा परे। पार्टीले जनयुद्ध थालनी गर्नु ६ महिना अगाडि देखि दुजबीर पनि भूमिगत भए।

अशोजे मेला पछि भित्रीगामको घ्वाखोलाको बिरु प्रधान (बीर बहादुर बुढा) को घरमा प्रहरी चौकी स्थापना गरियो र राज्यले जनमोर्चा खोज्ने सर्च अप्रेशन चलायो, पछि यस अप्रेशनलाई ‘रोमियो अप्रेशन’ नाम दिई रोल्पा जिल्ला भरी चलाइयो।

२०५२ फाल्गुन १ गतेबाट जनयुद्धको घोषणा र थालनी भयो।तब दुजबीर घर्ति पनि जनमोर्चाबाट माओबादी धरिए।

२०५३ जेष्ठ १ गते राती गोप्य रुपमा दुजबीर आफ्नो गाउं झारसांडी पसे। झारसांडीबाट प्रहरी चौकी मुस्किलले २० मिनेटको बाटोमा थियो। दुजबीरको काका सने घर्तिको छोरा दिलु घर्तिले बिरु प्रधानको छोरी बिबाविवाह गरेर प्रधानकै घरमा बस्ने गर्थे। दुजबीर घर्ति घर आएको सुराक तिनले पाएपछि घ्वाखोला मामा (ससुरा) को घरमा रहेको प्रहरी र मामालाई खबर दिए। त्यसपछि २०५३ जेष्ठ २ गते बिहान त्यो सानो गाउं झारसांडी प्रहरीको घेराउमा पर्यो। त्यस समय दुजबीर घर्ति छिमेकी लिलासिंह घर्तिको घरमा थिए, प्रहरी आएको थाहा पाएर दुजबीर घर्ति त्यहांबाट भागे। दुजबीरलाई प्रहरीले लखेट्दै पारी डांडामा गोली हानेर मारे।

हो तिनै शहिद दुजबीर घर्तिकी आमा हुन् तेजमा घर्ति। त्यो हत्याकाण्ड पछि म पहिलो चोटी २०५४ को आषाढको एक रात उनीलाई भेट्न भित्री गामको झारसांडी पुग्ने निदो गरें। स्थानीय साथीहरुको सहायतामा तेजमाको घर छेउ पुग्यौं। छेउ मै जोडिएको उनका देवर सनेघर्तिको घर रहेछ, सने कै घर आंगनबाटै तेजमाको घर छिर्दो रहेछ। सने घर्ति बदमास त थिएनन्, तर तिनका छोरा दिलु घर्तिले सुराक गर्ने भएकोले उनीसँग पनि सतर्क रहनु थियो। सने एक्लै रहेछन्, हामी जाँदा ढोका खुल्लै थियो। अगेनामा आगो बाली रहेको थिए, सायद खाना पकाउदै वा के गर्दै थिए। सने घर्तिले कान नसुन्ने भएकोले उनको आंखा छले त्यहीबाट तेजमाको घर पुग्यौं।

जसै म साथीहरुसँग तेजमा घर्तिको घर पसेँ, तेजमामा एउटा स्फूर्ति देखेँ, उनले भाँग बालेर मेरो मुख हेरिन्, मेरो गाला मुसारिन् एवं क्रमले आलोपालो सबैको मुख हेर्दै, गाला मुसार्दै गरिन्। उनका आँखामा टिलपिल टिलपिल आँशु रसाए, त्यो हर्षको आसु थियो। ’कहाँबाट आयौ घाम झुल्किए झै ?’ यी उनका अनायास प्रकट बोली थिए। कुनामा नातिनातिनी निदाएका थिए। बुहारी घरमा थिइनन्, सुलिचौर गएकी हुन रे।

तेजमा घरमा घरी बाहिर घरी भित्र गर्थिन। उनको चिन्ता हामीलाई खुवाउनेमा परेको रहेछ। ‘यिनलाई के खुवाउने ?’ भन्दै घरी यता छाम्थे, घरी उता छाम्थे। खाना पकाउन पिठो पनि रहेन छ, राती त्यस भेकमा चाँखी पिस्ने चलन पनि नभएको। अन्ततस् वहाँको मर्म बुझ्यौँ र हामीसँगका भाई बहिनीहरु खर्च (पिठो) पिस्न लागे। गाउँ पातलो भएकोले एउटा घरको गतिविधि अर्को घरमा सुनिन्थेन।छिमेकको सनेघर्तिले कान नसुन्ने हुँदा तिनको हिसाबै भएन।

पिठो तयार भयो, ढिडो पकाउन पनि भाईबहिनीहरु लागे पछि उनी फुर्सदमा भइन्।

छोराको शहादतबारे जिज्ञासा राखें, तेजमा घर्तिले मन खोलेर कुरा राखिन्।

‘राती घर आइथे, बिहान छिटो जाउ भनेको हो, यहाँबाट त निस्किएको हो, माथि लिलेको घरमा पस्यो छ। पुलिस आएर मेरै अगाडि लघार्दै लगे बाबू। म पनि पुलिसको पछि पछि दगुरेँ, के गर्नु बाबू, वारी पाखाबाट हेर्दाहेर्दै पारी पाखामा मेरो छोरालाई ढाले, गोली लागेर छट्पटाई रहेको मेरो छोरालाई राइफलले घोँचिघोँचि मारे बाबू।’ घटना सुनाउँदा सुनाउँदै तेजमाको घाटी अबरुद्ध भए, आँखाबाट बलिन्द्रधारा आसु झारिन्। उनको साथमा हामी पनि सँगै रोयौँ।उनलाई के सम्हाल्नु हामी आफै सम्हालिन सकिरहेका थिएनौँ। फेरी आफै सम्हालिँदै सुनाउँदै गए, ‘बाउ मर्दा यित्रीको थियो, रगतको दल्लो बाउले छाडेर गए। राँडीफूँडीले एक्लै टोकेटुहुरो हुर्काएँ। मेरै अगाडि मैले हेर्दाहेर्दै यसरी मारिदिँदा रिँगटा छुट्यो बाबू, धर्ति आकाश भनभनी घुम्या जस्तो भयो, धर्ति फाट्या जस्तो सर्ग अध्यारो भा जस्तो भो बाबू, मुटू फूटेर मर्छु कि झै लाग्यो बाबू’ कुरा सुन्दै अत्यास लाग्ने यो के भईरहेको छ, के के बेहोर्दै जानु पर्ने हो भन्ने लाग्यो। तेजमा भन्दै गइन, ‘पुलिस चौकी गएँ बाबू, उनका हाकिमलाई मेरो छोरा किन मारिस् भनेर झगडा गरेँ, मेरो मनमा आको जति गाली गरें, केही बोलेन बाबू।केले मारिस् यहीले त मारिस् होला ल मलाई पनि यसैले मार भनेर उसको राइफल सिकाएँ, मार भनेर छात्ती थापेँ, मुन्टो उसको जीउमा घुसारेर मार भनेँ बाबू ढुँगा बोल्ला तर त्यो बोलेन, ढुंगा हल्लेला त्यो हल्लिएन बाबू।मलाई मारेनन् बाबू बरु लटारेर बाहिर फाले। त्यँही मुटू फुटेर मर्छु जस्तो भएँ। फेरी सम्झिएँ छोराका रगतका डल्ला नातिनातिना बुहारी सम्झिएर मर्न सकेन, रुँदै रुँदै घर फर्किएँ बाबू।’

प्रहरीले दुजबीर घर्तिलाई मार्यो, जनयुद्ध शुरु भएको र प्रहरी आक्रमणको प्रतिकार भएकोले यो स्वभाविक नै भयो तर अस्वभाविक के भयो भने मारिएका दुजबीरको लाशको मुन्तामा डाम्लो होलेर प्रहरीको रोहबरमा बिरु प्रधान र कुलमान बुढा लगायतले घिसार्दै लतार्दै ४ गाउ घुमाए, माओवादी भए यस्तो हुन्छ, माओवादी मार्नु बहादुरी हो भन्ने देखाउन खोजे। अरु त अरु लाश माथि यतिसम्म उत्श्रृंखल गरे किकुलमान बुढाले सबैका अगाडि लाशको मुखमा पिसाब फेरे, कुकुरको दिशा र सुंगुरको दिशा मुखमा कोचिदिए। वास्तवमा दुजबीर माओबादी भए पनि उनीहरु कै भाईभतिजो वा आफन्त नै थिए भन्ने भूले, मानवता बिर्सिए। लाश परिवारलाई बुझाउने कुरै भएन, गुप्चुपफाले।

तीन भाईबिहनी छोराछोरी जन्मिँदा नजन्मिदै तेजमाका पति सनबीर घर्तिको मृत्यु भयो। तेजमा कलिलै उमेरमा राँडी भइन, तर हरेश खाएनन्। गाउँलेले सहयोगको सत्ता अनेक लान्छना लगाए, राँडी भनेर हेपे। तर उनी कुखुराको माउले झै छोराछोरी छपक्क ढोकेर बसिन्। भाग्यलाई दोष दिइन् तर हार खाइनन्। मर्दले गर्ने काम पनि सबै आफै गरिन्। उनी भन्छिन्, ‘राँडी फूडी भनेर हेपे, गाउँ समाजसँग जुधेँ, कुकुरले नपाउनु दुःख पाएँ, टोकेटुहुरो हुर्काउनु कहाँ राम्रो थियो र बाबू, अब त छोरा छोरी हुर्काएँ बढाएँ जे गर्लान् यिनैले गर्लान् भनेको यस्तो आपद आइलाग्यो बाबू।’

‘बाबू तिमीहरु आयौं, छोरा आको जस्तो मानेँ, मेरो छोरा नि हुँदो हो त तिमीहरुसँगै त हुन्थ्यो होला,तिमीहरुसँगै त आउथ्यो होला।आउँदै गर्नु, छोराको अनुहार तिमीहरुमा देख्छु।’

दुख माथि दुख, दुजबीर मारिएको अर्को महिना दुजबीरका ४ बर्षीय कान्छो छोरा गज घर्तिको पनि मृत्यु भयो। उनले सुनाइन्, ‘छोरा मारिएको महिना दिनमा सानो नाति नि मर्यो बाबू, दैवले नि जहाँ दुख्नु वहीँ किन थोक्छ, के खेल खेल्छ। गर्ने जस्तो बुहारी पनि बिरामीमात्र पर्छिन् कसरी गरी खाने ?’

हामीप्रतिको गहिरो चासो, कुरै कुरामा हामीलाई सम्झाइन, ‘टाडि साउनमा स्याउबारीमा पुलिसले टेकेलाई मार्यो रे, उनको आमा नि मजस्तै कति रोइन् होला। तिमीहरु ढुक्कसँग नहिड्नु, वर पर बुझेर हेरेर हिड्नु, बस्दा सुत्दा कोहीले हेर्ने कोही बस्ने सुत्ने गर्नु। दुश्मन टाढाको हुन्न, जो पायो त्यसको भरोसा नगर्नु। सुत्दा पनि एक कान ठाडो, एक आंखा खुल्ला राख्नु, चराको निद्रा सुत्नु। तिमी बैशका मान्छेहरु निर्धक्क हिड्छौ होला त्यस्तो नगर्नु। खाँदा पनि कोहीले बाहिर हेर्नु अरुले खानु। तिमीहरु झगडा गर्छौ रे, मिलेर पो दुश्मन हराउने हो किन झगडा गर्छौ। दुश्मन हसाउने होइन, म त यी पापीहरुका अगाडि रुँदिन बाबू।’

तेजमाका अगाडि म नतमस्क थिएं। सम्झाउन बुझाउन गएको मान्छे, उल्टै सम्झाई मागें,बुझाई मागें।स्थानीय साथीहरुको बीचमा भइरहेको ठाकठुक र बैमनस्यता बुझ्नु भएको रहेछ। उनीबाट मैले यति ठूलो हौसला र शिक्षा पाएँ जो जीवनभरका लागि अविस्मरणीय छ। आधा रातसम्म तेजमासँग गफियौं, जनयुद्धका कुरा गर्यौं, राज्यको दमनको कुरा गर्यौं, शहिदका कुरा गर्यौं। लक्ष्यमा अबिचलित लाग्ने कुरा गर्यौं, हत्याको बदला लिने संकल्प गर्यौं। खाना खाएर मध्यरातमा बाटो लाग्यौं फेरी फेरी आउने बाचा गरेर।

२०५७ मंसिरमा म घ्वाखोला सेल्टर लिएको बेला तेजमा घर्तिलाई बोलाउन लगाएँ। ‘शरदले बोलाएको छ’ भन्दा खुशी भएर म कहाँ आइन्। त्यस बेला म ६ नं. प्लाटूनको कमाण्डर थिएँ। मेरो कार्यक्षेत्र बाग्लुंग म्याग्दी थियो र त्यस पटक बाग्लुँगको झिवाखोला प्रहरी चौकी आक्रमणको अन्तिम सेल्टरका लागि त्यहाँ पुगेका थियौँ। उनलाई यो तीन बर्षहरुमा गरेका आक्रमण र उपलब्धीका कुराहरु सुनाएँ, चौकी कब्जा र हतियार कब्जाको फेहरिष्ट सुनाएँ, ठूले राई कब्जा देखि डोल्पाको सदरमुकाम दुनई कब्जासम्मका सबै कुरा सुनाएँ, कब्जा भएका हतियारहरु देखाएँ। उनी धित मरुन्जेल राइफल, म्याग्नम, सटगन र पेस्तोलहरु हेरी रहिन, सुम्सुम्याइन्। उनी खुशीले गदगद थिइन, पार्टीले शहिद स्मारिका निकालेको थियो त्यो देखाई दिएँ। तपाईको छोरा दुजबीरको फोटो यो हो भनेर देखाएँ, आफ्नो छोराको फोटो एकछिनसम्म मुसारी राखिन्। अनि एक एक पन्ना पल्टाउदै ‘कठै कठै’ भन्दै शहिदहरुका फोटो ओल्टापल्टाई हेरिन्।

‘हामीले बदला लियौँ आमा, तपाईका छोरा मार्ने राइफल यिनै हुन आमा।’ भन्दा उनी खुशी भएर खिसिक्क हाँस्थिन्। उनी फर्किने बेला मसँग बिदा हुँदै मलाई उनको तर्फबाट खर्च भनेर रु १० र दिँदै बिदा माग्दै थिइन्। जससँग सबै चिज लुटिएको छ, त्यो १० रुपैया जुटाउने ल्याकट छैन तर दिन खोज्दै थिइन्। उनले पार्टीसँग केही मागेनन् बरु सकिनसकि दिन खोज्दै थिइन्। उनी पारी डाँडा जाँदासम्म हामीलाई फर्किंदै हेर्दै गर्थिन्, उनको मनमा के खेल्यो होला ?

पति बियोगको बेदना र बिरामी मिसिएर त होला पछि बिरामी बुहारी देउमती घर्तिको पनि काल भयो। बुढेसकालमा नातीनातिना हुर्काउने फेरी उनको एक्लो जीवन। जीवनभर पिँडाले दामिएकी तेजमा घर्तिले ९० बर्षको उमेरमा २०७५ साउन २६ गते सदाका लागि यस धर्तिबाट बिश्राम लिइन्।

प्रतिक्रिया दिनुहोस्