‘यही मंसिर १९, २० र २१ गते काठमाडौंमा राष्ट्रिय धर्मसभा र राष्ट्रिय सम्मेलन’ हुँदै, राजसंस्था पूनःस्थापना गरिने (भिडियो)



काठमाडौं, १६ मंसिर । विश्व हिन्दु एकता परिषदले मंसिर १९ गतेदेखि राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्ने भएको छ । परिषद्ले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै देशको धर्म, संस्कृति र परम्पराहरुको नाश भइरहेको र यस्तो अवस्थामा चेतनशील नागरिक चुप लागेर बस्नु ठीक नभएकाले भन्दै यही मंसिर १९, २० र २१ गते राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराएको हो ।

परिषद्ले अहिलेको व्यवस्था नै असफल भैसकेको निश्कर्ष निकालेको छ । उसले वर्तमान व्यवस्था खासगरि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विफल भैसकेको निश्कर्ष निकालेको छ । परिषदले व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका तीनवटै अंग पंगु भईरहेको र जनताले अहिले बेथिति, महँगी र भ्रष्टाचार भोग्नुपरेको भन्दै यसबाट मुक्ति दिलाउनको लागि पनि राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्न लागेको स्पष्ट पारेको हो ।

कार्यक्रममा बोल्दै संयुक्त राज्य जनआन्दोलन मोर्चाका अध्यक्ष तथा प्रमुख अथिति तारानाथ लुर्इँटेलले विश्व हिन्दु एकता परिषदले गर्न लागेको राष्ट्रिय धर्मसभाको सफलताको कामना गर्दै आफ्नोपनि यसमा सहयोग र सहभागिता हुने विश्वास दिलाए । यस्तै, उनले नेपालका राजनीतिक दलहरुले विदेशबाट आयातित धर्म र विचार नेपाली जनतामा लाँद्ने काम गरेको पनि आरोप लगाए । उनले विदेशी एजेण्डा नेपालमा लाँद्ने नेताहरुलाई देशबाट मुक्त गर्नुपर्ने र यही नै अहिले जनताले खोजिरहेको आवश्यकत्ता औंल्याए ।

उनले राजसंस्था, वैदिक सनातन हिन्दुअधिराज्य, अखण्ड नेपाल र संयुक्त शासन प्रणालीले मात्र नेपाललाई सही तवरले अघि बढाउनसक्ने भन्दै अबको दिनमा नेपाली जनता शसक्त रुपमा यी एजेण्डा लागुगर्न अगाडि आउनुपर्नेमा जोड दिए ।

‘संसद् बन्द छ, दलहरुले जनताको संसद्लाई बन्धक बनाएका छन् । रेमिट्यान्सको भरमा देश चलेको छ । न्यायपालीका, व्यावस्थापिका र कार्यपालीका स्वस्थ हुन सकेको छैन्,’–उनले भने । साथै, उनले मुलुकमा विदेशीको ईसारामा ख्रीस्चियन धर्म ल्याएको भन्दै हिन्दुधर्मलाई सिध्याउन खोेजेको आरोप लगाए ।

राष्ट्रिय धर्मसभाका राष्ट्रिय संयोजक किशोरी महतोले देशमा जबसम्म प्रजातन्त्र र राजसंस्था स्थापित हुँदैन तबसम्म यो देश र जनताको भलो नहुने दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजाको नाम भजाएर जनतालाई ठगिरहेको पनि आरोप लगाए ।

‘अहिलेको अवस्थामा पार्टीहरु राजावादी हुनै सक्दैनन् । जति ठुलो महाधिवेशन गरेपनि यिनीहरु राजावादी हुनै सक्दैनन् । चुनाव लडेर प्रधानमन्त्री र मन्त्री खानेसँग हामी मिल्न सक्दैनौं । राजाको लागि काम गरेको मान्छेलाई राप्रपालाई चिन्दैन्’,–उनले भने ।

साथै, उनले राप्रपाको महाधिवेशनको मञ्चमा आएर गणतन्त्रवादीहरुले जाल फालेको भन्दै राप्रपाले त्यो कुरालाई राम्रोसँग् बुझ्नुपर्ने टिप्पणी गरे ।

अभियन्ता डा. ठाकुरमोहन श्रेष्ठले नेपालमा दिगो शान्ति र धर्मको संरक्षण गर्नको लागि यो राष्ट्रिय धर्मसभा गर्न लागिएको भन्दै कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेका थिए । उनले विदेशीहरुले नेपालको सनातन धर्म, संस्कृति र राजसंस्थालाई नासिदिएको भन्दै यसलाई बचाउन देशभरका ॐकार परिवार एकजुट भएर लाग्नुपर्ने पनि बताए । ‘हाम्रो पहिचान नास बनाएका छन् । अब राजसंस्था पूर्नःस्थापना गर्न जरुरी रहेको छ’–उनले भने ।

नेपालका कम्युनिष्टहरुले समेत राजसंस्थालाई स्विकार गरिसकेको उल्लेख गर्दै उनले भने,‘जसले टाउको काटेर कम्युनिष्टको विचारधारा नेपालमा ल्याएका थिए, तीनै व्यक्तिविशेष र दलहरुले पनि स्विकार गसिकेका छन् । त्यसैले अबको आवश्यकत्ता भनेको नेपाली जनता र राजाबीचको एकता हो’ ।
कार्यक्रममा विजेश्वरी मन्दिरका पुजारी हेमन्त शाक्यले उक्त कार्यक्रम राष्ट्रको लागि विशेष रहने बताए । उनले गणतन्त्र नेपालको लागि फिट हुन नसकेको पनि सुनाए । यस्तै, उनले राष्ट्र भएमात्र जनताको अस्तित्व रहने भन्दै राष्ट्रलाई बचाउन आग्रह गरे ।

कार्यक्रममा अभियान्ता घनेन्द्र बहादुर बस्नेतले देशको राजनीतिक अवस्था भताभुङ्ग भएको बताउदै देशमा प्रजातन्त्रसहितको राजतन्त्र आवश्यक रहेको बताए । साथै, उनले राष्ट्रिय धर्मसभा कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए ।

संयुक्त राज्य जनआन्दोलन मोर्चाका राष्ट्रिय संयोजक शोभाराम थापाले विश्व हिन्दु एकता परिषद्ले गोलमेच सम्मेलन गर्ने साहस राखेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले राजतन्त्र हिन्दुधर्मको संरक्षक रहेको भन्दै उनले भने,‘जब यो देशमा गणतन्त्र आयो, हिन्दु धर्मलाई समाप्त पार्ने खेल भइरहेको छ । त्यसैले हिन्दु मात्र होइन् जयन, मुस्लिम बुद्ध धर्मलगायत सबै धर्महरु एक भएर लाग्नुपर्छ’ ।

यस्तै, उनले अब नेपालमा एकीकृत रुपमा नागरिक आन्दोलन सुरु हुने बताउदै शान्ति र राष्ट्रियताका अगाडि बमहरु नतमस्तक हुने उल्लेख गरेका थिए । कार्यक्रमा बोल्दै विश्व हिन्दु एकता परिषदका उपाध्यक्ष यश तुलाधरले राष्ट्र बचाउने अभिभारा सबैको भएको भन्दै जनताहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्