कोइलाको समस्याले इँटाको मूल्य वृद्धि



प्रदेश १ का ८५ इँटा उद्योगमध्ये अधिकांशले कोइलाको अभावमा काँचो इँटाको काम शुरू गर्न सकेका छैनन् । इँटा उद्योगमा प्रयोग हुने प्रमुख इन्धनको रूपमा रहेको पत्थर कोइला भारतबाट आायत हुन्थ्यो । अहिले भारतले कोइला निकासी प्रतिबन्ध लगाएपछि अहिले अमेरिका र इन्डोनेशियाबाट ३ सय प्रतिशतसम्म बढी मूल्य तिरेर ल्याउनु परिरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।

नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष तथा एवीआई इँटा उद्योगका सञ्चालक भीम घिमिरेले २ वर्ष कोरोनाको कारण इँटा उत्पादननै हुन सकेन । यो वर्ष इँटा उत्पादन भए पनि कोइला र ज्याला बढेकाले मूल्य वृद्धि हुने बताए । उनका अनुसार यो वर्ष इँटाको मूल्य २३ रुपैया प्रतिगोटाबाट २५ रुपैयाँसम्म पुग्ने छ । २ वर्षअघि एक नम्बर इँटाको मूल्य प्रतिगोटा १८ रुपैयाँ थियो । ३ वर्षमा इँटाको मूल्यमा प्रतिगोटा ७ रुपैयाँ बढेको छ ।

९६ डलर प्रतिटनमा २ वर्ष अघिसम्म पाइने कोइला अहिले २८० डलर पुगेको छ । नेपालमा प्रतिटन ४० देखि ४२ हजार रुपैयाँसम्म पर्छ । तर, अमेरिका र इन्डोनेशियाबाट पानी जहाजबाट ढुवानी भएर आइपुग्न कम्तीमा ६ महीना लाग्ने भएकाले इँटा उद्योगलाई कोइलाको अभाव हुने भएको हो ।

एसीसी इँटा उद्योगका सञ्चालक रमेश भगतले अहिले कोइलाको उपलब्धता बढ्न र मूल्यमा केही गिरावट आउने थालेको छ । प्रतिटन २८० डलरसम्म पुगेको कोइला अहिले २४० डलरसम्म झरेको उनले बताए । २ वर्ष अघिसम्म अन्तरराष्ट्रिय बजारमा ९५ डलरप्रति टन कोइला खरीदविक्री भएको थियो ।

कोरोनाको कारण अघिल्लो २ वर्षदेखि भारतको पश्चिमबंगालबाट आउने मजदूर नआउदा नेपालका इँटा उद्योगहरूले नयाँ इँटा उत्पादन गर्न सकेका थिएनन् । केही नगन्य उद्योगले स्वदेशी कामदार लगाएर इँटा उत्पादन गरे पनि त्यसले बजार धान्न सकेको थिएन ।

कोरोना महामारी शुरू हुुनुपूर्व १८ रुपैयाँ प्रतिगोटा रहेको इँटाको मूल्य उद्योगको उत्पादन ठप्प भएपछि बढेर २३ रुपैयाँ पुगेको छ । यसपटक पनि कोइलाको मूल्य र भारतीय कामदारको मूल्य बढेका कारण नयाँ इँटा २५ रुपैयाँ गोटामा मात्र बजार पठाउन सकिने उद्योगी भगतले बताए ।

प्रतिक्रिया दिनुहोस्