खुल्यो बेँसीशहर–चामे सडक



अविरल वषासँगै गएको बाढीपहिरोले केही समयदेखि अवरुद्ध बेँसीशहर चामे सडक पुनः सञ्चालनमा आएको छ । पहाडी र हिमाली जिल्ला जोड्ने यस सडकको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध बनाएको सडक खुलाएसँगै आज साढे पाँच बजेदेखि सडकमा सवारी साधन पुनः सञ्चालनमा आएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर हरि श्रेष्ठले बताए ।

अविरल वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध बनाउँदा यही कात्तिक २ गते बिहानबाट लमजुङ मनाङ जोड्ने एक मात्र सो सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । सो समयमा यस सडकखण्डको खरखरे भीर, नियालोघारी, दाना क्यू, कोत्रो, तिमाङ खोला, तिमाङ झरनालगायत स्थानमा बाढीपहिरोले सडक अवरुद्ध भएको थियो ।

तिमाङ झरना र खोलामा राखिएको काठे पुल बगाएको थियो भने अन्य स्थानमा बाढीपहिरोले सडक बगाउनुका साथै ढुङ्गा माटोले अवरुद्ध बनाएको थियो । सबै स्थानको अवरोध हटाएर अन्तिममा तिमाङ झरनामा तीन दिन लगाएर काठे पुल राख्ने कार्य सम्पन्न भएसँगै सवारी सञ्चालनमा आएको इञ्जिनियर श्रेष्ठले बताए ।

उनले भने, “अवरुद्ध भएको उक्त दुई स्थानमा काठेपुल राखिएको छ भने अन्य स्थानमा डोजरको सहायताले सडक खुलाइएको छ ।” सडक अवरुद्ध बनेपछि दसैँ पर्व मनाएर रोजगारी, अध्ययनलगायत गन्तव्यमा जाने रोकिएका थिए ।

मनाङमा आवश्यक ढुवानीका सामग्री, खाद्यान्न, लत्ताकपडा, औषधिलगायत सामग्री लैजान यतिबेला सडक सुचारु भएसँगै सहज भएको छ । यस अघि समेत दशैँ आउनु केही दिन अघिबाट मात्र सवारी सञ्चालनमा आएको थियो । गत असार १ गतेदेखि बाढीपहिरोले अवरुद्ध बनाएको यस सडक यस अघि गत असोज २० गतेदेखि सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्