दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने राष्ट्रपतिको विश्वास



राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि गरिन् ।

बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरुपमा मनाउने चाड भएको उल्लेख गर्दै राष्ट्रपतिले नकारात्मक प्रवृत्तिका विरुद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको पर्वको विशेष महत्व रहेको जनाइन् ।

“वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषि प्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ”, सन्देशमा भनिएको छ ।

दसैँले जस्ता चाडपर्वहरू राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास लिएकी छन् । सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्