माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल पहिलोपल्ट फाईनलमा, भारतसँग भिड्दै



बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ।

च्याम्पिनयसिपमा अपराजित भएको भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै उपाधिका लागि नेपालसँग भिडन्त पक्का गर्यो।

कप्तान सुनिल क्षेत्रीको दुई गोलमा आयोजक तथा साविक विजेता माल्दिभ्समाथि ३-१ को जित दर्ता गर्दै भारत फाइनल पुग्न सफल भएको हो । भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले यसअघि नेपाललाई १-० ले पराजित गरेको थियो भने श्रीलंका र बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रहयो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । यसअघि १ अंक जोडेको श्रीलंका समूह चरणबाट बाहिरिएको थियो ।

भारतका लागि ३३ औं मिनेटमा मनवीर सिंहले गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम मिनेटमा अलि अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ६२ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै भारतलाई पुन: अघि बढाए । ७१ औं मिनेटमा सुनिलले फ्रिकिकमा आएको पासलाई सदुपयोग गर्दै ३-१ ले अघि बढाए ।

खेलको ८० औं मिनेटमा भारतका प्रशिक्षक इगोर स्टिमाचले रातो कार्ड पाएका थिए । रेफ्रीको निर्णयमा लगातार विरोध गरेका उनले खेलमा दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि बेन्च छाडेका थिए । उनले अब फाइनलमा पनि बेन्चमा बस्न पाउने छैनन् ।

नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता हो। फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्