अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट अन्तिम चरणमा



जिल्ला अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाखको सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिए । उनले भने, “अहिले सामान आइपुगेको छ । प्राविधिकले जडान सम्पन्न गरेपछि सञ्चालनमा आउने छ ।”

उनका अनुसार प्लान्टले दिनमा ७० सिलिन्डर भर्ने क्षमता राख्दछ । गत वैशाख÷जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अब अक्सिजनको अभाव नहुने जानकारी दिए ।

जिल्लामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीय सहितको कोभिड– १९ सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो । हालसम्म जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन हजार ५८७ पुगेको छ । यसैगरी सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ८२५ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ६८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट जिल्लाको शीतगङ्गा नगरपालिकामा एकको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या ७५ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्