सुन्दर पुर्कुटीद्वारा दलित आयोगमा पदभार ग्रहण : ईमान्दारीपूर्वक जिम्मेवारी पुरा गर्ने प्रतिवद्दता



नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले आज एक कार्यक्रम बीच राष्ट्रिय दलित आयोगको सदस्यमा पदभार ग्रहण गरेका छन्।

२०७८ बैसाख २६ गते संवैधानिक परिषदबाट सिफारिस भई २०७८ असार १० गते राष्ट्रपतिबाट नियुक्ति भई आजै राष्ट्रिय दलित आयोगका अध्यक्षबाट सपथ लिई पदभार ग्रहण गरेका हुन्।

पार्टी भित्र ईमान्दार र सरल नेताका रुपमा परिचित पुर्कुटी पार्टीको जिम्मेवारीमा रहँदा उत्पिडित क्षेत्रका बागमती ईन्चार्ज समेत थिए। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ का स्थायी वासिन्दा पुर्कुटीले पार्टी भित्रकै केहि स्थानीय नेताहरुको विरोध सहेरै भएपनि बूढानीलकण्ठ नगरपालिकाको विकास र जनप्रतिनिधिहरुलाई ३ वर्ष सघाएर महत्वपूर्ण भूमिका समेत निर्वाह गरे।

२०६८ सालमा उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशक भएर काम गरिसकेका पुर्कुटीले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी उत्पिडित वर्गको पक्षमा ईमान्दारी पूर्वक काम गर्ने प्रतिवद्दता जनाएका छन्।

पदभार ग्रहणपछि सामाजिक संजालमा पुर्कुटीले लेखेका छन् :

हाम्रो देश लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भईसके पनि पुरानो व्यवस्थाले थुपारेको सामाजिक र सांस्कृतिक बिकृतिहरु विध्यमान छन् । त्यस्ता बिकृतिहरु धेरै पेचिला प्रकृतिका छन् । त्यसमध्येको जातीय छुवाछूत पनि सामाजिक जटिल सामाजिक बिकृति हो । जसले लाखौ उत्पीडित दलित समुदायको प्रतिष्ठा र स्वाभिमानमा गम्भीर आघात पारेको छ । जसले गर्दा उनीहरुको आर्थिक, सामाजिक र शैक्षिक स्तर विकासमा नकारात्मक असर पारेको छ । यस विषयलाई आत्मसात गर्दै नयाँ संविधानले दलित समुदायको अधिकारलाई मौलिक हकमा समेत समेटेको छ ।

जातीय छुवाछुत विरुद्ध ऐनको व्यवस्था गरेको यसै उद्देश्यलाई कार्यान्वयन गर्न संवैधानिक दलित आयोगको व्यवस्था भएको हो । मैले प्राप्त गरेको जिम्मेवारीमा रहेर देशको संविधान, ऐन, कानुनमा व्यवस्था भए बमोजिम दलित समुदायका अधिकारलाई सुनिश्चित गर्न प्रयत्न गर्ने छु । यसका लागि नागरिक समाज, राजनीतिक दलहरुसङ्गको उचित परामर्श, संयोजन र सह -कार्यका साथ दलित समुदायको समस्यालाई देशको साझा समस्या बनाउन राष्ट्रिय मनोविज्ञान, अठोट र संकल्प निर्माण गर्ने कुरामा दृढताका साथ लाग्ने छु । संविधान, ऐन र कानूनमा भएका व्यवस्थाहरुलाई आयोगका क्षेत्रधिकारको सीमामा रही यसलाई दलित समुदायको हितमा कार्यान्वयन गर्न, गराउन र आवश्यक रहँदा थप ऐन, कानून र नियमहरूको व्यवस्थापन गर्न पहल गर्ने छु । आयोगको सदस्यको जिम्मेवारीलाई मेरो अनुभव, ज्ञान र क्षमताले भ्याएसम्म ईमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत जाहेर गर्दछु।

दलितको सपना ‘आकाशको फल आँखातरी मर’

प्रतिक्रिया दिनुहोस्