मन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध



काठमाडौं । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष नेकपा एमालेले फौजदारी अभियोग लागेका मन्त्री अमर थापालाई नहटाएसम्म सदन चल्न नदिने भन्दै अवरुद्ध गरेको छ ।

कर्णाली प्रदेशको प्री–बजेटका बारेमा छलफल गर्न आज बसेको कर्णाली प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले यस्तो बताएका हुन् । उनले अदालतबाट पत्र काटेर नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका भौतिक पूर्वाधार मन्त्री अम्मर थापालाई मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने जानकारी दिए ।

‘नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राख्ने ?’ कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सदन शुरू हुनासाथ बोल्दै नेता कंडेलले भने, गम्भीर प्रकृतीको अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न म प्रदेश सरकार र माननीय सभामुखलाई अनुरोध गर्दछु ।’

एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन । सरकार अधिवेशन चलाउन चाहन्छ भने त्यस्ता व्यक्तिलाई हटाउनुस् । ‘बजेट, नीति कार्यक्रम ल्याउनुछ । त्यसमा हामी सकारात्मक छौँ । यो स्थितिको अन्त्य सरकारले गरोस । रचनात्मक सहयोग गर्न तयार छौँ ।’

उनले भने, ‘संसद राजनितिक थलो हो । यहाँ दल छान्न र बदल्न सकिन्छ । राजनितिक अपराध गरेकाहरूसँग हामी बस्न सक्दैनौं । अदालतले अपराध पुष्टि गरेका ब्यक्ति झण्डा हल्लाएर प्रदेश सभामा प्रवेस गरेका छन् । नेकपा एमाले यो अवस्थालाई टुलुटुले हेरेर बस्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्