अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान रोक



सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

‘पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएका हौं,’ उनले भने ।

उनका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्