यात्रुसँग तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उनीहरू टिकट काउन्टरका कर्मचारीहरू हुन् ।

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई महाशाखाले पक्राउ गरेको हो ।

उनीहरूलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। त्यसक्रममा वैदेशिक रोजगारीबाट फर्किएका तथा अत्यावश्यक परी घर फर्किने यात्रुहरूसँग तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाएको हो ।

सो सूचना पाएपछि प्रहरीले उनीहरूलाई गौशाला र कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूले काठमाडौंदेखि झापा र मोरङ्ग जाने यात्रुहरूसँग जनही तीन हजार देखी चार हजार पाँच सयसम्म भाडा लिएका थिए ।

ट्राफिक प्रहरी महाशाखले निषेधाज्ञा जारी भएदेखि समस्यामा पर्नेहरूलाई घर पुर्‍याउने क्रममा ठगिन सक्ने भन्दै विशेष टोली गठन गरेको छ । त्यसैअन्तर्गत बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरिसकेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्