नेकपा एमाले सबैलाई समेटी अगाडि बढ्ने छ : मन्त्री ढकाल



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटी अगाडि बढ्ने बताएका छन् । नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको आज शुभारम्भ गर्दै वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय निकाय र सङ्घीय निर्वाचनका लागि जनताको एमाले पार्टी नयाँ जनादेशमा जान तयारी शुरु गरेको बताए ।

उनले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राखे ।

उनले निर्वाचनका समयमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराका साथ विजयी भएका प्रतिपक्षका नेतालाई जनताले सबै बुझेका छन् भन्दै पार्टीभित्रबाटै तीन वर्ष सरकार सञ्चालन र जनताको काम गर्नमा सधैँ बाधा–व्यवधान उत्पन्न गरेको आरोपसमेत लगाए ।

उनले आजको अवस्थामा हिजोका एमालेलाई जनताको साथ लिएर हिँड्न आग्रह गर्दै स्थानीय निकायलगायत अन्य योजनामा नागरिकको प्रत्यक्ष सहभागिताका लागि जोड दिए । मन्त्री ढकालले आगामी एक हप्ताभित्र मोरङका १७ स्थानीय पालिका र वडाहरूमा सङ्गठन विस्तार गरी कार्यालय स्थापनाका लागि अनुरोध गरे ।

पार्टीका केन्द्रीय सदस्यद्वय गुरु बराल, विनोद ढकाल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, महिला सङ्घका केन्द्रीय सदस्य सङ्गीता दाहाल र हेमराज पन्तले अन्योलको निकास आएकामा कार्यकर्तामा उत्साह छाएको छ भन्दै विगत दुई वर्षमा नभएको काम दुई महिनामा भएको धारणा व्यक्त गरे ।

सोही अवसरमा मन्त्री ढकालले नेपाल विद्यार्थी सङ्घ परित्याग गरी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा प्रवेश गर्ने विद्यार्थीहरुलाई स्वागत गरे । विराटनगर–११ स्थित पार्टीको पुरानो कार्यालयमा नयाँ बोर्ड लगाई आजदेखि एमाले कार्यालयको शुभारम्भ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्