सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्री ओलीको आपत्ति



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आइतबारको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधि सभाको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाए ।

सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईका अनुसार प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधि समाको बैठक शुरु हुनुअगाडि सभामुखले संसदीय परम्पराअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु पर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेको भट्टराई बताउँछन् ।

‘संसद्को बैठक बस्नुअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र सरकारसँग परामर्श गरेर गर्नुपर्नेमा त्यसो नगरिएकामा प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभएको छ,’ उनले भने ।

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उनले बताए ।

पार्टी एकताका क्रममा देखिएका कमीकमजोरीलाई सच्च्याएर अगाडि बढ्ने र एकतालाई नयाँ आधारमा अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले गम्भीर सम्बोधन गरेको उनको भनाइ छ ।

सर्वोच्चको फैसलापछि पार्टीको अवस्था साबिकरुपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का रुपमा पुगेको प्रधानमन्त्रीको भनाइ थियो ।

बैठकमा प्रतिनिधि सभाको पुनः स्थापनाको फैसला जस्तै आइतबारको फैसलालाई समेत कार्यान्वयन गरेर जाने निर्णय भएको नेता भट्टराईले बताए। (रासस)

प्रतिक्रिया दिनुहोस्