‘प्रचण्डको पत्रको कुनै कानूनी आधार छैन’ : मुख्य सचेतक विशाल भट्टराई



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल (प्रचण्ड)ले संसद सचिवालयमा बिहिवार पठाएको पत्रको औचित्य नरहेको बताएका छन् ।

मुख्य सचेतक भट्टराईले एक विज्ञप्ति जारी गर्दै दलको विधान बमोजिम विधिवत रुपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र गैरकानूनी रहेको दाबी गरेका छन् ।

‘दलको विधानमा २०७५ बमोजिम बिधिवत रुपमा चुनिनुभएका संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलील रहनुभएको छ। नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार,औचित्य र प्रभाव हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ ।

भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षण समेत गराएका छन्।

प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड– पक्षीय सांसदहरूले सचिवालयमा दर्ता गरी ओली,उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्