मोतीपुरमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगा प्रहार



बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।

ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषणा गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दे उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो ।

आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् । मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताए ।

सरकारले स्थानीयसँग गरेका प्रतिवद्धता विपरीत अपारदर्शी ढंगले काम अघि बढाएकाले औद्योगिक क्षेत्र बन्न नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्