विप्लवले भने : ‘हामी स्वतन्त्रमुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ’



काठमाडौं । नेकपा विप्लव समुहका महासचिव नेत्रविक्रम चन्द विप्लव ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

उनले सामाजिक रुपान्तरण अझै पुगेको छैन भन्दै घाम र जुनको पनि भेट हुने तर्क गरे।

‘गाउँमा बस्दै गर्दा सहिद आमाले टिका लगाइदिनुभयो । र, एउटा उहाँले भन्नभयो – आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहना पूरा भइसकेको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दुःख गरिखाने नेपालीको चाहना पूरा भएको छैन । त्यसैले, तपाईंहरू त्यहाँ हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला,’ उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु, सहिदको सपना पूरा हुन्छ ।’

उनले जतिबेला अन्याय हुन्छ त्यसबेला कम्युनिष्टहरूले विद्रोह गर्ने भन्दै हाम्रा मान्यता र आकांक्षामा धावा बोले विद्रोह हुने गरेको बताए ।

हिजो पनि संविधान लेखन र संसदीय व्यवस्था पूँजीवादी व्यवस्थामा सहमत नभएको भन्दै उनले विद्रोह गरेको सम्झिए ।

‘नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै पार्टी सबै नेता र जनतालाई जीवनमाथि आफैं हावी भइरहेको छ, अब नयाँ प्रयोग जनमत हो । हामी तयार छौं । युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिष्टले नै गर्छ ।’

उनले घुम्दैघुम्दै रुम्जाटार बनाउने राजनीतिक परिस्थिति देखिएको पनि बताए ।

‘हामी स्वतन्त्रमुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ । अब हाम्रा सहकर्मी योद्धाहरुलाई सरकारले मुक्त गर्ने विश्वास गरेका छौं,’ विप्लवले भने, ‘आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै होइन । युवाहरुको चाहना अनुसार देशको समृद्धिका लागि गरिएको सहमति हो ।’

प्रतिक्रिया दिनुहोस्