सरकार र विप्लवबीच वार्ता शुरु



काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीबीच बुधबार काठमाडौँमा औपचारिक वार्ता सुरु भएको छ । स्रोतका अनुसार वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेका थिए ।

सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ ।

विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका थिए।

विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो ।

मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्