सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा दाहालले दिए लिखित जवाफ



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन् ।

आइतबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर उनले लिखित जवाफ दिएका हुन् ।

यसअघि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत पुगेका हुन् ।

प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वका बसेको बताएका थिए ।

हामीले धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं, प्रचण्डले भनेका थिए, जरुरी पर्यो भने म आज विराटनगरबाट भन्दैछु । देशैले सुने हुन्छ , जरुरी पर्यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरुलाई कारबाही गर्छौ । संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ । केपी अ‍ोलीलाई विघटनको अधिकार दिएको छैन ।

यस्तै प्रकृतिको यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्