भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोन वार्ता



काठमाडौं । अघिल्लो वर्ष सीमामा निकै तनावपूर्ण सम्बन्ध झेलेका भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ ।

बिहीबार भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच फोन वार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सीमा क्षेत्रमा सैन्य फौज घटाउने र तनाव कम गर्ने विषयमा भएको छलफपल ७५ मिनेटसम्म चलेको थियो ।

दुई विदेश मन्त्रीबीच पूर्वी लद्धाखको लाइन अफ एक्च्युल कन्ट्रालेलबारे र अरु सबै सीमा क्षेत्रबारे कुराकानी भएको थियो । जयशंकरले सीमाको मुद्दा सुल्झिन समय लाग्ने भए पनि सीमा क्षेत्रमा हिंसा हुँदा सम्बन्धलाई बिगार्ने बताएका थिए ।

दुई मन्त्री सीमा क्षेत्रबाट सैनिकहरु पछाडि हटेर अवस्था सामान्य भए पनि थप वार्ता गर्न पनि सहमत भएका छन् । उनीहरुबीच निरन्तर सम्पर्कमा रहने र त्यसका लागि हटलाइन पनि खोल्ने सहमति भएको छ ।

गत वर्षको जुनमा गल्वान भ्यालीमा दुई देशका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त झडपमा मारिएका चार जना सैनिकबारे चीनले अघिल्लो सातामात्रै जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्