बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमशः २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सुरेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले झम्सीखेल लतितपुरमा छुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय हात्तिसार काठमाडौंमा भएको खाताबाट पीडितलाई रकम भुक्तानहुने गरी चेकहरु दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भएको थियो ।

सुरेशलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

वैदेशिक रोजगारी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी सप्तरी छिन्नमस्ता गाउँपालिका–३ वतन भएका ढुण्डीराज पोखरेल भन्ने ३६ वर्षीय राम कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको
छ ।

उक्त मुद्दामा सर्वोच्च अदालतको २०६९ जेठ १६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैंया जरिवाना ठहर भई फरार रहेका राम कुमारलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

राम कुमारलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

साथै राम कुमारले पक्राउ पर्दाका बखत प्रहरीलाई झुक्याई भाग्न उम्कन आफू अख्तियारको सरकारी कर्मचारी ढुण्डीराज पोखरेल भनी फोटो टाँस भएको निजामती किताबखानाबाट जारी भएको देखिने राजपत्र अनंकित प्रथम श्रेणीको नायव सुब्बा पद उल्लेख भएको, सरकारी छाप तथा प्रशासकीय अधिकृतको दस्तखत समेत भएको देखिने परिचय–पत्र देखाएको र निजको साथबाट सेवा निवृत कर्मचारी परिचय–पत्र समेतका कागजातहरु वरामद हुन आएकोले उनीउपर मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धि कसूर समेतमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका –५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछाम र ईलाका प्रहरी कार्यालय साफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्