सरकार गठनका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं : प्रचण्ड



काठमाडौं । संसद पुनस्र्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड माधव-नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएपछि नयाँ सत्ता समीकरणबारे चासो बढेको छ ।

यसैक्रममा नेकपा अध्यक्ष प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गरेका छन् । यद्यपि टेलिफोन सम्वादमा बधाई साटासाट मात्र भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवा बताउँछन् ।

प्रचण्डले यसअघि नै संसद पुनस्र्थापना भए देउवालाई प्रधानमन्त्री स्वीकार्न आफूलाई कुनै आपत्ती नभएको बताइसकेका छन् । त्यसअघि प्रचण्ड र नेपालले देउवालाई भेटेर केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्तावसमेत गरेका थिए । त्यसैले प्रचण्ड र देउवाबीच अहिले भएको वार्तालाई चासोका साथ हेरिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्ने अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्