नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । दाहालले २०७४ सालको निर्वाचनमा ओखलढुंगामा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य उनी जेपी प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उक्त प्रतिष्ठानमार्फत उनले समाजसेवा गर्दै आएका थिए । साँखुमा उनले जेष्ठ नागरिक आश्रम बनाएका छन् ।

२०२१ सालमा ओखलढुंगामा जन्मिएका दाहाल मिर्गौला रोगबाट पीडित थिए । उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा उनको निधन भएको हो । उनले २०४२ सालमा नेपाली कांग्रेसले गरेको सत्याग्रह तथा लोकतान्त्रिक आन्दोलनमा पटक-पटक गरी करिब डेढ वर्ष जेल जीवन बिताएका थिए ।

दाहालका श्रीमती, दुई छोरा र एक छोरी छन् । दाहालको अन्त्येष्टि शुक्रबार साँझ पशुपति आर्यघाटमा भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका नेताहरु आर्यघाट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्