पेरिसडाँडामा सकियो नेकपा स्थायी समिति बैठक, केन्द्रीय सदस्यको नागरिकता संकलन हुँदै



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरु भएको छ ।

पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको स्थायी समिति बैठकपछि केन्द्रीय कमिटि बैठक बस्दैछ ।

यस्तै आजै संसदीय दलको पनि बैठक बस्न लागेको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड-नेपाल समूह अहिले सडक आन्दोलनमा समीक्षासमेत हुने भएको छ ।

यसैबीच, निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड-नेपाल समूहले बहुमत सदस्यहरु नागरिकतासहित उपस्थित गराउने तयारीस्वरुप नागरिकता संकलन थालेको हो ।

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था र आन्दोलनबारे जानकारी गराउन आजको बैठक बोलाइएको हो ।

अदालतमा के भइरहेको छ, निर्वाचन आयोगमा के हुँदैछ भनेर सबै साथीहरुलाई जानकारी दिनु र आवश्यक छलफलका लागि आजको बैठक डाकिएको हो , उनले भने । ‘

निर्वाचन आयोगलाई आफ्नो आधिकारिकताका लागि पनि केही बुझाउन र हामी यति छौं भनेर देखाउने विषयमा पनि छलफल गर्न आजको बैठक बोलाएको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्