मुख्यमन्त्री राईले भने : ‘प्रचण्ड–माधव समूहको रबैयाका कारण प्रदेशसभा भंग हुनसक्छ’



विराटनगर । सरकारको आयु लम्व्याउन प्रदेशसभा छलेको आरोप खेप्दै आएका प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । त्यसबेला मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्छु भनेका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएका छन् । तर राईलाई आफ्नो सरकार जोगाउन पुग्ने मत छैन । प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले प्रदेशसभा नै अवरुद्ध गरेको छ ।

अर्को बैठक ९ फागुनमा बोलाइएको छ । त्यसअघि बिहीबार ओली पक्षका नेताहरुले प्रचण्ड–माधव समूहका नेताहरुलाई भेटेर अविश्वासको प्रस्ताव फिर्ता लिन वा पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय पर्खिन आग्रह गरेका थिए । तर प्रचण्ड–माधव समूहले सहमति जनाएको छैन ।

प्रदेशसभा भंग हुनसक्छ

मुख्यमन्त्री राईले प्रदेशसभा नै भंग हुनसक्ने पनि बताए । म त्यो पक्षमा छैन, तर उहाँहरु प्रचण्ड–माधव समूहको रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न उनले भने ।

आफू विघटनको पक्षमा नरहेको भन्दै उनले भने, अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस मैले गरेको हो, यदि त्यस्तो हुन्थ्यो भने त्यस अघि प्रस्ताव दर्ता अघि नै विघटनको सिफारिस गर्न सक्ने अवस्था हुन्थ्यो नि । तर म त्यस विघटन को पक्षमा छैन ।

प्रतिक्रिया दिनुहोस्