
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको नगरप्रहरीहरुलाई अग्नि निवारण तथा उद्दारका लागि ७ दिने आधारभूत तालिम दिइएको छ ।
नगरपालिकामा मानविय या अमानविय तरिकाले आगलागी तथा अन्य विपद भएमा, सबैभन्दा पहिले जानकारी प्राप्त गर्ने र प्रतिक्रियाकर्ता स्थानीय नै हुन् । त्यसैले, सुरक्षात्मक तरिकाले जोखिम न्यूनिकरण, अग्नि निवारण तथा उद्दार गर्नका लागि समुदाय स्तरको विपद प्रतिकार्य तालिम १८ नगरप्रहरी र १२ नेपाली सेना गरी ३० जनालाई दिइएको हो ।
बूढानीलकण्ठ नगरपालिकाले यो तालिम नेपाली सेना, ‘दि फेमस महेन्द्र दल गण’ र काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्र कार्यालयसँगको सहकार्यमा सञ्चालन गरेको हो ।

सात दिने तालिमको अन्तिम दिन ‘दि फेमस गण’ मैदानमा प्रशिक्षणार्थीहरुको विशेष प्रदर्शनी साथ समापन भएको छ । उक्त समापन कार्यक्रममा प्रशिक्षणार्थीहरुले घरमा एकै पटक २ ठाउँमा वनमा, र ग्यास सिलिन्डर, पेट्रोलियम पदार्थ लगायतबाट आगलागी भएका अवस्थाहरुमा गरिने अग्नी निवारण प्रक्रियाको दमकल प्रदर्शन गरेका थिए ।
यसका साथै नगरप्रमुखद्धारा प्रशिक्षणार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । आगामी दिनहरुमा लागलागी तथा अन्य बहुप्रकोपको निवारण गर्न आवश्यक उन्नत प्रशिक्षण उपलब्ध तयारी भईरहेको नगरप्रमुखले जानकारी दिए ।

प्रदर्शनी तथा समापन कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेल, प्र.से. रमेश खड्का, काठमाडौं महानगरपालिका अग्नी निवारण कार्यक्रमको प्रमुख लिला राज गाछा मगर, वडा नं ०५ अध्यक्ष बिजय तामाङ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा र प्रशासन महाशाखा प्रमुख जयराम गजुरेलले उपस्थितिका साथ अवलोकन गरेका थिए ।





