आर्थिक अनियमितता गरेपछि मुख्यमन्त्री शाहीको सचिवालयबाट खेमबहादुर सिंह आउट



प्रेम पाण्डेय, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक अनियमितता गरेको भन्दै आफ्नो प्रमुख स्वकिय सचिव खेमबहादुर सिंहलाई सचिवालयबाट आउट गरेका छन् । सचिवालयबाट अन्य दुई जनालाई पनि हटाइएको छ ।

हटाइएका अन्य दुइजनामा जनसम्पर्क सल्लाहाकार जनकनाथ योगी र स्वकिय सचिव धर्मराज शाही (सुमन) रहेका छन् । जनसम्पर्क सल्लाहाकारमा रहेका योगीलाई सांस्कृतिक बिचलन सम्बन्धी आरोप लागेपछि हटाइएको हो । कालिकोटको सान्नीत्रिवेणी घर भएका योगीले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहाकारमा नियुक्त भइसकेपछि सुर्खेतमा एक महिलासंग अबैध यौन सम्बन्ध कायम गर्दै दोस्री श्रीमतीको रुपमा भित्र्याएका थिए । अहिले उनका जुम्ल्याहा सन्तान छन् ।

योगीकी जेठी श्रीमती गाउँमै खेतीकिसान गरेर जीविकोपार्जन गर्दै आइरहेकी छन् । जनयुद्ध कालमा यौन–प्रेम र विवाहमा एकनिष्टता हुनुपर्छ भन्ने मान्यता राख्दै आएका माओवादीहरुले शान्ति प्रक्रियामा आएसंगै सांस्कृतिक बिचलनलाई सामान्य मान्न थाले । युद्धकालमा अबैध सम्बन्ध राखेमा कडा कारबाही गर्ने प्रचलन थियो । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका घर भएका योगीलाई सोही गाउँपालिका अध्यक्ष डम्बर शाहीले नियुक्तिका लागि मुख्यमन्त्री शाहीलाई दबाब दिएका थिए ।

गाउँपालिका अध्यक्ष शाही मुख्यमन्त्री शाहीको सबैभन्दा नजिकको विश्वास पात्र हुन् । त्यस्तै पचालझरना गाउँपालिका घर भएका अर्का स्वकिय सचिव धर्मराज शाही (सुमन)लाई गाउँपालिकामा जोडिएर काम गर्नेगरि सचिवालयबाट विदाइ गरिएको हो । उनलाई पचालझरना गाउँपालिकाको भावि अध्यक्षको रुपमा हेरिएको छ ।

कर्णाली प्रदेश सरकार गठनपछि प्रमुख स्वकिय सचिवको रुपमा नियुक्त भएका सिंहले ३ बर्षको अबधिमा डेढ करोड जति आर्थिक कमाइ गरेका छन् । उनले विभिन्न स्थानीय तहमा बजेट पारे बापत डिपिआर मागेर आर्थिक आर्जन गरि सुर्खेतमा घर बनाएका छन् । उनले कर्णालीका विभिन्न ५० वटाभन्दा बढी स्थानीय तहमा मन्त्रालयबाट बजेट पारिदिने र त्यो बापत डिपिआर माग्ने गरेको मुख्यमन्त्री कार्यालय श्रोतको दाबी छ ।

सिंहले मुख्यमन्त्री शाहीको स्वकिय सचिवमा नियुक्त भइसकेपछि सुर्खेतमा ३० लाख बढीको घडेरी किन्दै झण्डै ४० लाखको सेरोफेरोमा थप खर्च गरेर कपासे ब्यारेक नजिकै घर बनाएका छन् । उनले सचिवालयमा रहँदा झण्डै डेढ करोड बढी अकुत सम्पति आर्जन गरेका छन् । यसअघि सिंहको ठाउँमा कालिकोट तिलागुफाका दिनेश चदारालाई नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहीले हेलिकोप्टरबाट सुर्खेत ल्याएका थिए ।

खेमबहादुर सिंहको घर

No description available.


तर सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरपालिकाका अध्यक्ष धर्मराज शाही (पोषण) र पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमको दबाबपछि मुख्यमन्त्री शाही पछि हटेका थिए ।

समावेशी सचिवालय बनाउने भन्दै नयाँलाई नियुक्ती

मुख्यमन्त्री शाहीलाई आफ्नो सचिवालयमा ठकुरीहरुलाई मात्र नियुक्ती दिएको भन्ने व्यापक आरोप लाग्दै आएको थियो । उनले त्यो आरोपलाई खण्डन गर्न अहिले आफ्नो सचिवालय पुनर्गठन गरेका हुन् ।

सचिवालयमा प्रमुख स्वकिय सचिवको रुपमा कालिकोट शुभकालिका गाउँपालिकाबासी कृष्णप्रसाद आचार्यलाई नियुक्ति दिइएको छ ।

त्यस्तै जनसम्पर्क सल्लाहाकारमा कालिकोट माल्कोटका पुराना कार्यकर्ता विष्णुबहादुर बिक(विकल्प जुम्ली)लाई नियुक्ति दिइएको छ भने स्वकिय सचिवमा कालिकोट दाहाका रबिन्द्र शाही नियुक्त भएका छन् । मुख्यमन्त्री शाहीले अन्य नेताहरुलाई पनि अवसर दिन पुरानाको ठाउँमा नयाँलाई नियुक्ति दिएको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्