राष्ट्रिय युवा संघ नेपालको बृहत भेला सम्पन्न



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बेलबारी नगर कमिटीले बृहत् भेला सम्पन्न गरेको छ ।

नगर भरिका सयौं युवाहरुको उत्साहजनक उपस्थितिमा भेला आयोजना गरेको हो । भेलामा प्रमुख अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सम्बोधन गरेका थिए । साथै नेकपा केन्द्रीय सदस्यहरु रामकुमार बस्नेत, डिपि राई, संघीय सांसद घनश्याम खतिवडा, जिल्ला नेता प्रताप थापा युवासंघका नेताहरु केन्द्रीय उपाध्यक्ष रविन थापा, जिल्ला इन्चार्ज विजय डागी, जिल्ला अध्यक्ष नवीन पौडेल, बेलबारी नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुली लगायत नगरका पार्टी र जनवर्गीय संगठनका नेताहरुले पनि सम्बोधन गरेका थिए ।

नगर कमिटी सदस्य पुष्कर शर्माको स्वागत मन्तव्य बाट कार्यक्रम शुरूवात भएको थियो । कार्यक्रममा वक्ताहरुले वर्तमान राजनैतिक अवस्था र यो अवस्थामा आइपुग्न भएका षड्यन्त्र र त्यसको नतिजाका बारेमा युवाहरुलाई प्रष्ट«याएका थिए । संसद विघटनमा पुग्नुपर्ने बाध्यताका बारेमा सांसद खतिवडाले स्पष्ट रूपमा आफ्ना भनाई राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा यही फागुन ८ गते विराटनगरमा आयोजना हुने वृहत जनसभाको तयारी स्वरूप यो कार्यक्रम आयोजना गरिएको युवा नेता कृष्ण गुरुङले बताए ।

नेकपा प्रदेश कमिटीको आयोजनामा हुने उक्त जनसभालाई भव्य सभ्य बनाउन युवाहरुको भूमिका सक्रिय रहेको र हजारौं जनसमुदायको उपस्थितिलाई व्यवस्थित बनाउन लागिपरेको नेता गुरुङले बताए ।

उत्साहजनक उपस्थित भएका युवाहरुले केपी ओलीको पक्षमा डटेर लाग्ने र अस्थिरतावादीहरुलाई वैशाखमा हुने मध्यावधि निर्वाचन बाटै जबाफ दिने भन्दै कार्यक्रममा स्वस्फूर्त उपस्थित भएको जनाए । युवा संघ नगर कमिटीका अध्यक्ष आशिष कार्किको सभापतित्वमा भएको कार्यक्रम कमिटीका सचिव विमल लिम्बुले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्