प्रधानमन्त्री ओली आज अपहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने भएका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे लिखित जवाफ बोकेर सर्वोच्च जाने कार्यक्रम छ ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरुलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए ।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरुद्ध मुद्दा उनले हालेका हुन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन भन्ने टिप्पणी गरेका थिए ।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो ।

खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत नारी पाउन अनुरोध छ, निवेदनमा भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्