कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन भदौमा गर्ने प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ । केहीबेर अघि सुरु केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए । पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ ।

छलफलपछि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा भदौमा महाधिवेशन हुनेछ । भदौमा महाधिवेशन गर्न देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने हुन्छ । संविधानको व्यवस्थाअनुसार अब छ महिना म्याद थप गर्न मिल्छ ।

सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ । कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो । तीन घण्टा ढिलो गरी बैठक सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्