“अब भन्दिनुहोस् क.प्रचण्ड, बाबुराम, वैद्य, विप्लप ज्यू अब त्यो शहिदको रगतको मूल्य कति हो ? या यत्तिकै समाप्त हुन्छ ”



सोभाराम बोहोरा (क.संगम), आम जनताको अधिकार स्थापनाको लागि विभिन्न काल खण्डमा भएका जनआन्दोलन, विद्रोह, संघर्ष जनयुद्धमा बिना स्वार्थ आफूलाई देशको लागि बलिदान दिने अमर व्यक्तिहरु, जसलाई शहिद भनिन्छ । ती शहिदहरुको नेपालमा आमूल परिर्वतन साथै प्रजातन्त्र र लोकतन्त्र गणतन्त्र स्थापनको लागि निःस्वार्थ बलिदान अतुलनीय छ । शहिदहरुको भूमिका र बलिदानको संरक्षण, सम्मान तथा सम्झना गर्नु हामी सबैको दायित्व हो ।

मेरो घरपरिवार पहिलेदेखि नै जनमुक्ति सेनामा संलग्न भएकाले म पनि जनमुक्ति सेनामा जानको लागि प्रेरित भए । विशेष मेरो अंकल सम बहादुर बोहराले मलाई जनमुक्ति सेनामा लाग्न प्रेरित गर्नुभएको थियो । जनयुद्धको समयमा जनताको हक अधिकारको लागि लड्दा म लगायत धेरैले गोली समेत खाएका छौँ ।

त्यतिमात्र नभएर हामी युद्ध मोर्चामा हुदाँ राज्यबाट नै मेरो घरमा आगजन समेत भएको थियो । त्यसबेला श्रमजीवी वर्ग, राजतन्त्रको अन्त्यको लागि हामीले पाएको राजनीतिक ज्ञान अनुसार हामीले युद्ध लडेका थियौँ ।

पहिलो पटक रुकुमकोटको प्रहरी इलाका र त्यसपछि बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका क्षेत्रमा संगठन विस्तारको निम्ति हामी खटेका थियौँ । जनयुद्धको समयमा आम जनताबाट पाएको अलि अलि रकम हामी हातहतियार किन्न खर्च गर्थ्यौँ र बडो मुश्किलले रासनपानी जुटाउथ्यौँ ।

हामीले त्यसबेला माओवादी खोजी खोजी मार्ने गरिरहदाँ पनि राज्यसत्ता नै कब्जा गर्छौ भन्ने हिसाबले ज्यानको माया नराखी युद्ध लडेका थियौँ । आम नेपालीको लागि राम्रो व्यवस्था राज्यले गर्छ भने हामी मरेर गएपनि केही हुदैँन भन्ने भाव हामीमा थियो ।

म त्यसबेला जनमुक्ति सेनाको प्लाटुन कमान्डरको हैसियतसम्म पुगेको थिए । त्यसपछि पार्टीको आवश्यकता अनुसार दोस्रो पटक खारा हमला भैसकेपछि यहाँ रुङ्गाखाराको पार्टी सेक्रेटरी भएर आइपुगे । जनयुद्धकालमा हामीलाई जति नै दुख भएपनि त्यस्तो कहिल्यै लागेन । यदि जनताले नयाँ शासन व्यवस्था पाउँछन् भने हामीले जति नै दुख गर्नुपरे पनि तयार छौँ भन्ने भाव भएकाले दुख महशुस कहिल्यै भएन ।

हामीले केही पाउँछौ भन्ने आशले लडाई गरेका होइनौँ । लडाईको मोर्चा जितेपछि जनताबाट सम्मानस्वरुप पाएको फुलमाला नै हाम्रो लागि काफी थियो । युद्धको समयमा हाम्रा कयौँ साथीहरु मरेर गए । त्यसबेला डराएर ओ हो मरिने हो कि भन्ने भावना कहिल्यै आएन । बरु हाम्रो अन्तिम सास रहेसम्म देश र जनताका लागि लड्नुपर्छ भन्ने मात्र सोचिन्थ्यो ।

राजतन्त्रात्मक व्यवस्थाको अन्त्य हुन्छ र त्यसपछि जनवादी व्यवस्था स्थापना गरी समाजवादतिर जान्छौँ भनेर निरन्तर लागिरह्यौँ ।

अब भन्दिनुहोस् क.प्रचण्ड, बाबुराम, वैद्य, विप्लप ज्यू अब त्यो सहिदको रगतको मूल्य कति हो रु या यत्तिकै समाप्त हुन्छ के शहिदहरुको योगदान त्यतिकै खेर जान्छ ? शहिदहरुले देशको लागि हाँसि हाँसि दिएको योगदानको उचित मूल्य कहिले हुन्छ, अमर शहिदहरु तगा शहिद दिवस हाम्रा साझा सम्पति हुन्, जसले समाजवाद तथा साम्यवादको बाटोतिर हिँड्नको निम्ति सबै क्रान्किारी तथा परिवर्तनकामी शक्तिहरुलाई प्रेरणा प्रदान गर्दछन् ।

त्यसैले सबैले महान शहिदहरुको बलिदान तथा शहिद दिवसको संरक्षण, रक्षा, संस्मरण तथा सम्मान गर्नु सबै बामपन्थी तथा क्रान्तिकारीहरुको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्