‘महिलालाई आत्मनिर्भर नबनाई देश समृद्ध हुँदैन’ : डा.राजन भट्टराई



नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले नमूना महिला बेकरी क्याफेको चौथौँ बार्षिक उत्सव समारोहमा महिलालाई आत्मनिर्भर नबनाई देश समृद्ध नहुने बताएका छन् ।

Also Read: डुबान समस्या समाधानको लागि डा.राजन भट्टराईको पहलमा ४५ करोडको टेन्डर आव्हान : जनप्रतिनिधि र स्थानीयवासी हर्षित

नेपाल कम्युनिष्ट पार्टीले स्थापनाकाल देखि नै महिला अधिकार र सहभागिताको विषयमा सशक्त आवाज उठाएको स्मरण गराउँदै नेपालभित्र बसोवास गर्ने महिलाहरुलाई परिवारका पुरुष सदस्यहरुले घरेलु काममा सहयोग गरी सामाजिक र आर्थिक काममा महिलालाई सहयोग गर्न डा.भट्टराईले अनुरोध समेत गरे ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले महिलाको आर्थिक क्षमता विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आर्थिक सवलीकरणको क्षेत्रमा काम गरेको समेत बताए ।

बूढानीलकण्ठ नगरपालिका उप–प्रमुख रमादेवी राईले नगरपालिका र सबै समाजका पुरषहरुले महिलालाई हेर्ने दृष्टिकोण अझै सहयोगी नभएको आरोप लगाउँदै नमूना बेकरीले नगरपालिकाभरिमा नमूना काम गरेको बताइन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं.२ का अध्यक्ष राजेन्द्र खड्काले नमूना महिला बेकरी क्याफेलाई वडा कार्यालयले सकेसम्म सहयोग गरेको बताउँदै केही महिलाहरुलाई रोजगारी दिएर क्याफेले राम्रो काम गरेको बताए ।

महिला अधिकारकर्मी तथा वडा सदस्य ज्ञानु कार्की थापाद्धारा सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता चपली महिला महासंघ तथा नमूना महिला बेकरी क्याफे की अध्यक्ष निशा बरालले गरेकी थिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सुन्दर पुर्कुटी, बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव ध्रुव प्रसाद घिमिरे, काठमाडौँ जिल्ला सचिवालय सदस्य विदुर विक्रम खड्का, नेकपा बूढानीलकण्ठका अध्यक्ष प्रदिप डंगोल, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरु र स्थानीय महिला अधिकारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्