गैरआवासीय नेपाली संघका अध्यक्ष र स्वास्थ्य मन्त्री त्रिपाठीबीच भेटवार्ता



काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त र स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीबीच गैरआवासीय नेपाली संघ मार्फत (कोभिड–१९) को खोप नेपालमा उपलब्ध गराउन कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो ।

सुरुमा अध्यक्ष पन्तले संघले (कोभिड–१९) को रोकथाम, राहत र नेपाल फिर्तीमा पुराएको सहयोग र नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएका स्वास्थ सामाग्रीहरुका बारे प्रकाश पारे ।

उनले संघको स्वास्थ्य समितिले हाल सम्म पनि परिचालन गरिरहेको स्वास्थ्य स्वयंसेवकहरु मार्फत भईरहेका बिभिन्न कामहरुका बिषयमा मन्त्रीलाई अवगत गराउंदै नेपालमा (कोभिड–१९) को खोप आपूर्तिमा संघले के कस्तो सहकार्य गर्न सक्छ र यसको लागि संघले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुबाट आर्थिक सहयोग संकलन गर्ने योजना अघि सारेको जानकारी गराए ।

सो अवसरमा अध्यक्षले संघको स्वास्थ्य समितिको तर्फबाट तयार पारिएको प्रारम्भिक साम्झौता पत्र समेत मन्त्रीलाई अध्ययनको लागि हस्तान्तरण गर्दै यसका बिषयबस्तु उपर मन्त्रालयको धारणाका लागि अनुरोध गरे ।

सो अवसरमा मन्त्री त्रिपाठीले संघले नेपाल सरकारलाई स्वास्थ मन्त्रालय मार्फत उपलब्ध गराएका सहयोगको लागि धन्यवाद व्यक्त गर्दै (कोभिड–१९) को खोप G2G मार्फत मात्र खरिद गर्न सकिने जानकारी गराए । उनले उत्पादन र मागमा देखिएको असमानजस्यताले गर्दा खोपको उपलब्धतामा समेत केहि कठिनाई भएको छ र यसको प्रयोगको कार्यविधि समेत तयार नभएको अवस्थामा सोचे जस्तो प्रयोगमा ल्यउन नसकिएको र हाल यसको प्रयोगको लागि कार्यविधिहरु समेत मन्त्रालयले तयार गरिरहेको जानकारी गराए ।

सरकारले हाल तीन चोटि परिक्षण गरिसकेको थप २२,५०,००० खोप खरिद गर्न प्रयास गरिरहेको जानकारी गराउंदै यो माग र आपूर्तिको समस्या मात्र नभई एक राजनीति समस्याको रुपमा समेत देखापरेको अवगत गराए । उनले हाल नेपाल सरकारले बीचौलिया मार्फत कुनै पनि खोप खरिद नगर्ने तर सरकारको स्वीकृति लिई नेपालका निजि अस्पताहरुले खोप ल्याएमा सरकारले तोकेको मूल्यमा खोप लगाउन दिन सकिने बताए ।

अन्त्यमा, संघको नेपाल सरकारलाई खोपको लागि केहि रकम उपलब्ध गराउने योजना सकारात्मक रहेको र संघले तयार पारेको सम्झौता पत्र अध्ययन गरी आवश्यक सुझाव दिने समेत बताए । छलफलमा निवर्तमान सांसद विरोध खतिवडा, संघका उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्