
काठमाडौं । वन क्षेत्रमा सहजिकरण गर्ने मानविय स्रोतहरुको संस्था समुदायमा आधारित वन सहजकर्ता सञ्जाल, नेपाल (COFSUN, Nepal) को राष्ट्रिय कार्यसमितिको वैठक कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । २०७७ माघ २५ देखि २७ सम्म सञ्चालन भएको सो वैठकमा मुलुकभरवाट प्रतिनिधित्व गर्ने राष्ट्रिय कार्यसमितिका सदस्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
माघ २५ गते सञ्जालको १७ औं स्थापना दिवसको सन्दर्भमा वृक्षारोण गरी सुरु भएको वैठकले वन क्षेत्रमा देखापरेका सवालको विश्लेषण गरी आफनो धारणा सहित संस्थागत प्रतिवद्धता समेत जाहेर गरेको छ । सवाल तथा त्यस प्रति दृष्टिकोण तयार गर्ने क्रममा कञ्चनपुर जिल्लाका विभिन्न सामुदायिक वन, वन संरक्षण क्षेत्र, जैविक मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज समेतको अवलोकन गरी सम्वन्धीत पक्षहरुसँग परामर्श एवं अन्तरक्रिया समेत गरेको थियो ।
वैठकको अन्तिम दिन अर्थात २७ गते संस्थाका अध्यक्ष अप्सरा चापागाईले ७ वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै वैठकको समापन गर्नु भएको थियो । सो प्रतिवद्धतामा वन क्षेत्रमा देखा परेका सवाललाई सम्वोधन गर्न वन क्षेत्रका अधिकारवाला तथा सरोकारवालाहरु विचमा सहअस्तीत्वको सहकार्यका लागि नियमित संवाद गराउने प्रतिवद्धता समेत जाहेर गरेको छ । त्यसै गरी वन क्षेत्रको सुशासनका लागि सहजिकरण गर्न सञ्जाल सदैव तत्पर रहेको र मुलुक, मुलुकवासी एवं समुदायलाई साध्य मानी वन क्षेत्रसँग सम्वन्धीत हरेक तहवाट तयार हुने कानूनहरु प्रकृयागत ढँगले समुदाय मैत्री वनाउनु पर्ने कुरामा जोड दिएको छ ।





