
काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
राज्यविरुद्धको कसुरमा प्रहरीले बिहीबार झाँक्रीलाई पक्राउ गरेलगत्तै विज्ञप्ति जारी गर्दै अनेमसंघले निसर्त उनको रिहाइको माग गरेको हो ।
नेकपाको केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य तथा अनेरास्ववियू पूर्व अध्यक्ष कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीप्रति अनेमसंघले घोर निन्दा एवम् भत्सर्ना गरेको छ । संयोजक अमृता थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानलाई प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रतालाई चुनौति दिंदै एक महिला नेतृ माथि गरिएको ज्यादतीपूर्ण गिरफ्तारीले वर्तमान सरकारको कायरता, निरंकुशताको चरमा प्रदर्शन गरेको छ’ ।






