ओलीलाई प्रचण्डको प्रश्न : तपाई अध्यक्ष कम्युनिष्ट पार्टीको कि हिन्दु महासंघको ?



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाई कम्युनिष्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको भनी प्रश्न गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको छलफलका क्रममा प्रचण्डले कम्युनिष्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ? भन्ने प्रश्न ओली आफैंले उठाएको बताए । अयोध्या, राम मन्दिर, पशुपतिनाथमा पूजा लगायतका कारण सबैले प्रश्न उठाएको उनले सुनाए ।

उनले अघि भने, उहाँ पशुपति जानुभएकोमा हाम्रो आपत्ति छैन, उहाँ पशुपति जान पाउनुहुन्छ, बत्ती बाल्न पाउनुहुन्छ । तर संविधान मिच्न पाइएन ।

यदि नेपालमा राम जन्मिएको प्रमाणित हुन्छ, धार्मिक पर्यटकीय स्थल बन्छ भने म भन्दा खुसी अर्को को होला ? उनले भने, केपीजीलाई मेरो चुनौती के छ भने पुरातात्विक अन्वेषण गर्ने, राम नेपालको अध्योध्यामा जन्मिएको प्रमाणित गर्न सिन्को भाँच्नु भएको छैन । अहिले जे गर्नु भएको छ, त्यो स्टन्ट मात्र हो ।

आफूहरुले राज्य धर्म निरपेक्ष हुनुपर्छ भनेको तर जनताको धार्मिक आस्थाको सम्मान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्