प्रवासी नेपाली एकता मन्च युकेको अध्यक्षमा भक्त गुरुङ



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको विदेशस्थित भातृसंगठनको रुपमा परिचित प्रवासी नेपाली एकता मञ्च बेलायतको राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरेको छ ।

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य राम बहादुर थापा (बादल) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले १२५ (हाल ९९ सदस्य र पछि बाकिँ थप्ने गरी) सदस्य केन्द्रीय कार्यसमिति गठन गरेको मञ्चका पूर्व अध्यक्ष रामशरण सिंखडाले जानकारी दिए ।

बेलायतको अन्य विभिन्न क्षेत्रलाई समेत समेटेर हाललाई पाँच क्षेत्रिय समिति रहनेगरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने बताएको छ । १२ जना उपाध्यक्ष रहनेगरी गठन गरिएको समितिको अध्यक्ष गुरुङ पूर्व एमालेको तर्फबाट र महासचिवमा पूर्व माओवादीका तर्फबाट सुरेशजंग शाह रहेका छन् । कार्यक्रममा यो नै बेलायतको आधिकारीक संगठन रहेको जनाइएको छ ।

आइतबार सम्पन्न उक्त कार्यक्रमको आधिकारीक रुपमा उद्घाटन गर्दै पूर्व सभामुख सुवास नेम्वाङले देश अब निर्वाचनमय भैसकेको र यसका लागि निर्वाचन आयोगले काम गरिरहेको बताए । गृहमन्त्री थापाले जनताले निर्वाचित गरी पठाएको सरकार प्रमुखलाई आफ्नै पार्टीका केही व्यक्तिले अविश्वासको प्रस्ताव पेश गरेर अपदस्त गर्न लागेपछि प्रधानमन्त्री ओलीले यो कदम चालेको बताए ।

प्रतिक्रिया दिनुहोस्