ओलीबाट राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुग्यो : देव गुरुङ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देव गुरुङ्ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुगेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले ओलीको संसद विघटनको कदमले अस्थिरता बढ्दै जाने र त्यसले राष्ट्रको अस्मितामाथि गम्भीर संकेत पुग्नसक्ने खतरा औल्याए ।

‘प्रतिनिधि सभा विघटनले अस्थिरता बढ्दै राज्य अराजक हुने देखिएको छ,’ प्रचण्ड नेपाल समूहको नेकपाका नेता गुरुङ्गले भने,‘ यसले अन्तगत्वा राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुग्ने देखिन्छ ।’ अहिले देशको अस्मितामाथि गम्भीर संकट पुग्ने खतरा देखिएकोले सबै गम्भीर हुनुपर्ने बताए ।

संसद विघटनबाट अहिलेको राजनीतिक प्रणालीमाथि आक्रमण गरिएको बताए । यसलाई गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतामाथि नै आक्रमण भन्दै संसद पुनःस्थापनाबाट संवैधानिक व्यवस्था सुचारु गर्नुपर्ने तर्क गरे ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रतिनिधि सभा सदस्य नभएको र संविधानले सांसद नभएको व्यक्तिलाई प्रधानमन्त्री हुने व्यवस्था नगरेको तर्क गरे । उनले भने,‘जुन संविधानले प्रतिनिधि सभा सदस्य नभएकाले व्यक्तिलाई प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरेको छ त्यही संविधानको उल्लंघन गर्दै फुल फेजको प्रधानमन्त्री जसरी काम गरिरहनुभएको छ ।’ संसद नभएको अवस्थामा सरकार स्वतः कामचलाऊ हुने बताउँदै नियुक्तिहरु गर्न नपाउने जिकिर गरे ।

संवैधानिक निकायमा भएका नियुक्तिलाई असंवैधानिक भन्दै सबै बदर हुनुपर्ने तर्क गरे । संसदको सुनुवाई समितिमा सुनुवाई नभई नियुक्ति र सपथ खुवाएर संविधान विपरितको कार्य गरेको बताए ।

संविधानले पाँच पाँच वर्षमा मात्र ताजा जनादेशको परिकल्पना गरेको जिकिर गरे । एउटा अवस्थामा बाहेक पाँच पाँच वर्षमा मात्र ताजा जनादेशमा जान सकिने व्यवस्था गरेकोमा प्रधानमन्त्री ओलीले ठाडै संविधान उल्लंघ गरेको तर्क गरे । उनले भने,‘मुलुकमा कानुन छ कि छैन भन्ने अवस्था भएको छ ।’ प्रधानमन्त्री ओलीको भुमिकाले संविधान र देश नै संकटमा परेको बताए ।

गुरुङ्गले काँग्रेसको भुमिकामाथि समेत प्रश्न गरे । उनले भने,‘काँग्रेस लोकतन्त्रको मसियाहा भन्छ तर किन असंवैधानिक कदम भन्दै चुनावमा जाने पनि जोड गरिरहेको छ ।’ काँग्रेसलाई संसद विघटनको विषयमा अझ स्पष्ट हुन आग्रह गरे । संविधान ड्राफ्ट गर्दा संसदबाट निर्वाचित प्रधानमन्त्री भनी काँग्रेसकै प्रस्ताव भएको उल्लेख गर्दै संविधानको रक्षा सबैभन्दा बढी काँग्रेसलेनै गर्नुपर्ने बताए । काँग्रेसले संसद विघटन असंवैधानिक भन्दै गर्दा चुनावको पक्षमा आफूलाई देखाइरहेको उल्लेख गर्दै भने,‘यो आफैमा विवादास्पद छ ।’ काँग्रेसले दुईवटा डुंगामा खुट्टा राखेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्