
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले भोलि माघ २३ गतेका दिन काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ । उक्त दिनमा हुने ओली पक्षको जनसभामा २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी भएको नेकपाले जनाएको छ ।
भोलि हुने वृहत जनसभामा सहभागी हुनको लागि काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले अपिल गरेका छन् ।
उक्त विज्ञप्तीमा मूलुकको सार्वभौम अखण्डताको निम्ति जस्तोसुकै कदम चाल्न र बलिदान दिन तयार रहेको जनाएको छ । मूलुकलाई समृद्धिको दिशामा अगाडि बढाउँदै समाजवाद तर्फ फड्को मार्नुपर्ने अवस्थामा फेरि अस्थिरता निम्त्याउने उद्येश्यले चालिएका एकपछि अर्को कुटिल षड्यन्त्रलाई चिर्नुपर्ने अवस्था आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
काठमाडौँ महानगर कमिटीले विज्ञप्ती जारी गरी नेपाली जनता, राष्ट्रियता, सामाजिक न्याय र संविधानको रक्षार्थका निम्ति हुने प्रदर्शनमा सहभागिताको लागि अपिल गरेको हो । “अराजकता अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता, ताजा जनादेश विकासको निरन्तरता भन्ने नाराका साथ कार्यक्रम भव्यतापूर्वक सम्पन्न हुने विश्वास लिएका छौँ” अपिलमा भनिएको छ ।






